काठमाडौं। वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको निधन भएको आज १ वर्ष पुरा भएको छ । निमोनियाबाट पीडित रहेकी उनको डल्लुस्थित आफ्नै घरमा निधन भएको थियो । करिब चार दशकदेखि कलाकारितामा सक्रिय अधिकारीले सयौंको संख्यामा चलचित्रमा अभिनय गरेकी थिइन् । उनले अभिनय गरेका चलचित्रमा चिनो, कन्यादान, भाउजु लगायते चर्चित छन्। उनको निधनमा शोकाकुल भएका कलाकारहरुले उनको वार्षिक पुण्य तिथीमा पुन सम्झिएका छन् ।
उनका १ छोरा र छोरी छन्। दर्जनौ नाटक, टेलिश्रृखंला तथा सिनेमामा अभिनेत्री रहेकी अधिकारी नेपाली दर्शकमाझ ‘कन्यादान’ सिनेमामा गरेको छुच्ची सासूको भूमिका लागि चर्चित छिन्। उनको पहिलो फिल्म ‘मनको बाँध’ हो।
विसं २००४ सालमा काठमाडौंको असनमा जन्मे, हुर्केकी अधिकारीले कलाकारिता क्षेत्रमा नै आफ्नो जीवन अर्पेर उदाहरण बनेकी थिइन्। बुवा डिठ्ठा बलराम र आमा नुरादेवीकी सुपुत्री सुभद्राले सयौँ नेपाली चलचित्रमा अभिनय गरेकी छिन्। उनी परिवारकी एक्ली छोरी थिइन्। उनले आफ्नो प्रतिभालाई पारिवारिक वातावरणमा नै उजागर गरेकी थिइन्। उनकी आमा पनि गायिका थिइन्।
पाँच वर्षको उमेरमै सरस्वती सदन (क्याम्पस) मा शास्त्रीय नृत्य गरेकी उनले ६ वर्षकी छँदा नेवारी नाटक कचिमचाु (काँचो माटो) बाट अभिनय यात्रा थालेकी थिइन्। बाल्यकालबाटै रगंमञ्चमार्फत अभिनय यात्रा शुरु गरेकी अधिकारीको पहिलो चलचित्र मनको बाँध हो।
मनको बाँधबाट फिल्म क्षेत्रमा प्रवेश गरेकी अधिकारी फिल्म कन्यादानको छुच्ची सासूको भूमिकाका लागि चर्चित थिइन्। यसरी नेपाली चलचित्रमा यात्रा शुरु गरेकी अधिकारीले चिनो, कन्यादान, बासुदेव, बाटो मुनिको फूल, मुनामदनजस्ता चर्चित नेपाली चलचित्रमा अभिनय गरेकी छिन्।
उनी नेपाली चलचित्रको साथसाथै टेलिफिल्म र नाटककी पनि अब्बल कलाकार हुन्। सुभद्रा अधिकारी एक कुशल नृत्याङ्गना समेत हुन्। सानैमा बुवालाई गुमाएकी अधिकारीको अधिकांश समय मामाघरमा बितेको थियो। मामाघरको साहित्यिक,सांगीतिक वातावरणले उनलाई सानो उमेरदेखी नै कलाकार बनायो। उनले नाचघरमा लामो समय काम गरेकी थिइन्। वि।सं। २०५८ सालसम्म उनी नाचघरको जागिरे थिइन्। उनको ६३ बर्षौ कलायात्रालाई समावेश गरेर कलाकार सुभद्रा अधिकारी जीवनगाथा पुस्तक पनि प्रकाशित छ।