नेपाली सेनामा कार्यरत सहायक रथीसहित तीन जना बर्खास्त भएका छन् ।
सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसुरमा सैनिक अदालतबाट दोषी ठहरिएका नेपाली सेनाका तीन जना अधिकारी सैनिक सेवाबाट बर्खास्त भएका हुन् ।
नेपाली सेनाका सहायक रथी प्रयोग जबरा, महासेनानी नवीन सिलवाल र प्रमुख सुवेदार मिठुराम विश्वकर्मालाई समरी जनरल सैनिक अदालतले बर्खास्तको फैसला सुनाएको हो ।
पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा कार्यरत रहँदा सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसुर गरेको अभियोगमा सैनिक अदालतले उनीहरुलाई दोषी ठहर गरेको नेपाली सेनाले जनाएको छ ।
साथै उक्त अदालतबाट सह सेनानी लक्ष्मीकान्त खनाल, सुवेदार भोज बहादुर विष्ट र जमदार विनोद बस्नेतलाई एक तह दर्जा घटुवा तथा प्राविधिक सह सेनानी फिरोज महर्जन र जमदार भद्र बहादुर शाहीलाई नसिहत र महा सेनानी राजेन्द्र मणी गिरी र लेखा सुवेदार कर्मचारी नवराज पाण्डे (अवकाश प्राप्त) लाई सफाई दिने गरी फैसला भएको छ ।
संगठनबाट बर्खास्तीसँगै सहायक रथी राणाले आफूले अनियमितता गरेको १ करोड ५२ लाख २७ हजार ३२१ रुपैयाँ र महासेनानी सिलवालले १५ लाख ७९ हजार ४८० रुपैयाँ सेनाको खातामा दाखिला गर्नु पर्ने सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले जनकारी दिए ।
उनले आर्थिक अनियमितता र भ्रष्टाचारको विषयमा शून्य सहनशीलता (Zero Tolerance) नीति अनुरुप स्वच्छ संगठन निर्माण एवम् सुदृढिकरणको कार्यमा नेपाली सेना प्रतिवद्ध रहेको समेत बताए ।