समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएसँगै विराटनगर महानगरपालिकामा थप ४३ जनामा कोरोना संक्रमण देखिएको छ ।
महानगरपालिकाद्वारा शनिबार गरिएको परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण देखिएको जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए । सङ्क्रमित हुनेमा १९ महिला रहेका छन् ।
संक्रमितहरुमा विराटनगर महानगरपालिका वडा नम्बर–६ का सात जना, ३, ९, ११ र १५ का छ / छ जना , विराटनगर २ र ५ का चार / चार जना, विराटनगर ४ का तीन जना र विराटनगर ८ का एक जना रहेका छन् ।
यसअघि प्रदेश नं १ सामाजिक विकास मन्त्रालयले शनिबार दिउँसो जारी गरेको विवरणमा यहाँ ४० जना संक्रमित थप भएका थिए । योसँगै बिराटनगर महानगरपालिका क्षेत्रमा कोरोना संक्रमित हुनेको संख्या ५ सय २३ पुगेको छ भने निको भई घर फर्कनेको सङ्ख्या ८६ जना रहेका छन् ।
महानगर क्षेत्रमा मृत्यु हुनेको संख्या मात्रै ७ जना पुगेको छ । आइतबार विराटनगर–२ की एक महिलाको वीपीमा निधन भएको थियो ।
विराटनगरमा स्वाब संकलन रोकियो
विराटनगर महानगर क्षेत्रमा पीसीआर परीक्षणका लागि स्वाब संकलनको काम रोकिएको छ ।
महानगरमा कार्यरत स्वास्थ्यकर्मी संक्रमित भएपछि स्वास्थ्य महाशाखाका सबै सदस्य क्वारेन्टीनमा बस्नुपर्ने भएकोले स्वाब कलेक्सन रोकिएको हो ।
महानगरका जनस्वास्थ्य निरीक्षक हैदर अलिका अनुसार अहिले महाशाखा अन्तर्गतको कोभिड शाखा र कन्ट्याक्ट ट्रेसिङ टोलिका २२ जनाको स्वाब कलेक्सन गर्ने काम भईरहेको छ ।