गत जेठमा रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ मा भएको घटनामा मृत्यु भएका ६ जना युवाको परिवारलाई सरकारले १०/१० लाख रुपैयाँ आर्थिक सहायता दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।
मंगलबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता अर्थ तथा सूचना र प्रविधि मन्त्री युवराज खतिवडाले मृतकका परिवारलाई १०/१० लाख रुपैयाँ आर्थिक सहायता दिने र घाइते १२ जनालाई उपचारमा लागेको खर्च बराबरको रकम उपलब्ध गराउने निर्णय गरेको जानकारी दिएका छन् ।
गत जेठ १० गते दलित युवाले कथित उपल्लो जातिकी केटी भगाउन खोजेको भन्दै गाउँलेले गरेको आक्र मणमा परि जाजरकोटको भेरी नगरपालिकाका नवराज विकसहित गणेश बुढामगर, सन्दिप विक, लोकेन्द्र सुनार, टीकाराम सुनार र गोविन्द शाहीले ज्यान गुमाएका थिए ।
घटनामा पीडित परिवारले चौरजहारीका २० जना विरुद्ध किटानी जाहेरी दिएका छन् । चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बर मल्लसहित डिल्ली मल्ल, तुलबहादुर मल्ल, प्रेमबहादुर ठकुरी, वीरबहादुर मल्ल (युवतीका बुवा), प्रकाशी मल्ल (युवतीकी आमा) र युवतीलगायत २० जनाको नाममा मंगलबार जिल्ला प्रहरी कार्यालय जाजरकोटमा किटानी जाहेरी दर्ता भएको छ ।