सरकारले भारतबाट नेपाल आउने नागरिकका लागि मुलुकका विभिन्न १० वटा नाका मात्रै प्रयोगमा ल्याउने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
स्वदेश आउनै पर्ने नेपालीलाई स्थलमार्गबाट आउन यसअघि २० नाकाबाट प्रवेश दिइएकोमा अबदेखि १० नाकाबाट मात्रै नेपाल भित्रन दिइने निर्णय गरेको प्रवक्ता खतिवडाले जानकारी दिए ।
उनका अनुसार काकँडभिट्टा, रानी, माडर, गौर, वीरगञ्ज, बेलहिया, कृष्णनगर, जमुनाहा, गौरीफन्टा र गड्डाचौकीबाट मात्रै नेपाल आउन पाइनेछ ।
होटलमा बसेर खान नपाइने
सरकारले होटल तथा रेष्टुराँमा बसेर खान नपाइने नियम ल्याएको छ ।
यसअघि गएको साउन ५ गतेको बैठकले साउन १५ गतेदेखि होटल तथा रेस्टुरेन्ट खोल्न दिने निर्णय गरेको थियो । तर सामाजिक दुरी पालना नगरेको, भिडभाड गरेको र कोरोनाबाट बच्नको लागि अपनाउने उपाय नअपनाएकाले होटल तथा रेस्टुरेन्ट बन्द गर्ने निर्णय भएको अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले जानकारी दिए ।
सरकारका प्रवक्ता डा. युवराज खतिवडाले होटल तथा रेष्टुराँबाट कोरोनाको जोखिम बढेको भन्दै अब ‘टेक अ वे’ मात्रै लागु हुने बताए । त्यस्तै उनले धार्मिक तथा सामाजिक स्थल, चिडियाखाना लगायतका क्षेत्र अझै नखुल्ने जानकारी दिए ।