
काठमाडौं । सरकारले अन्तरजिल्ला यातायात र बाह्य तथा अन्तरिक हवाई उडान १६ भदौदेखि मात्रै खोल्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कोभिड—१९ संकट व्यवस्थापन सेन्टर ९सिसिएमसी०को प्रस्तावअनुसार १ भदौबाट खुला गर्ने भनिएको क्षेत्र थप १५ दिन खुला नगर्ने निर्णय गरेको हो ।
५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले चार महिना लामो लकडाउन अन्त्य गर्दै अन्तरजिल्ला यातायात, बाह्य तथा अन्तरिक हवाई उडान तथा विद्यालय भर्नालगायतका गतिविधि १ भदौदेखि खुला गर्ने निर्णय गरेको थियो ।
तर, कोरोना भाइरसको संक्रमण जोखिम बढेको भन्दै सिसिएमसीले छोटो, मध्य र लामो दुरीमा अन्तरजिल्ला निजी तथा सार्वजनिक यातायात, आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यावसायिक उडान, खेलकुद प्रशिक्षण, विद्यार्थी भर्ना, शैक्षिक तथा अन्य परीक्षा जस्ता कार्य १५ भदौसम्म स्थगित गर्न सिफारिस गरेको थियो । सोमबारको मन्त्रिपरिषद् बैठकले सोहीअनुसार नै निर्णय गरेको हो ।
सीमामा कडाइ सशक्त पारिने
मन्त्रिपरिषद्को बैठकले भारतबाट आउने नेपालीहरूका लागि तोकिएको प्रवेशबिन्दु २० बाट १० मा झारेको छ भने अन्यत्रबाट आउनेहरूलाई पूर्ण रूपमा निषेध गर्ने निर्णय गरेको छ ।
निर्धारित प्रवेशबिन्दुबाट आवतजावत भइरहेको र सीमापार बजार क्षेत्रमा समेत कारोना संक्रमण फैलिएको भन्दै सिसिएमसीकै सिफारिसअनुसार दैनिक रूपमा किनमेल गर्न, कामदार ल्याउन गरिने आवतजावतलाई पूर्ण रूपमा बन्द गर्ने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ ।