
काठमाडौं । आफूहरूको शारीरिक अवस्थाको अपहेलना र विभेद गरियो भन्दै अभिनेत्रीहरूले आक्रोश पोखेका छन् । यो आक्रोश सुरुमा अभिनेत्री पूजा शर्माले पोखेकी हुन् । यसपछि अन्य अभिनेत्रीहरूले सामाजिक सञ्जालदेखि विभिन्न सञ्चारमाध्यममा आक्रोश पोख्न थालेका छन् ।
एक टेलिभिजनको चलचित्रसम्बन्धी कार्यक्रममा आफूलाई ‘दारे महानायिका’ भनेको भन्दै उनले सामाजिक सञ्जालमा लेखेर आपति जनाएकी छन् । सो कार्यक्रम र कार्यक्रम सञ्चालकविरुद्ध नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र निर्माता संघ र सोसम्बन्धी टेलिभिजनमा छानबिनका लागि उजुरी हालेको बताएकी छन् । कार्यक्रममा कसैको नाम नलिएको भए पनि नेपाली चलचित्रका सबै नायिकालाई प्रभाव पर्नेगरी अपमान गरिएको अभिनेत्री पूजाको कथन छ । कार्यक्रम सञ्चालकले माफी मागिसके पनि यी अभिनेत्रीहरूको आक्रोश अझै रोकिएको छैन ।
पूजा मात्र हैन, यतिबेला अरू धेरै नायिकाहरूले त्यो सम्बोधनको विरोध गरेका छन् । शारीरिक अवस्था र लिंकका आधारमा कसैलाई पनि होच्याएर बोल्न नपाउने भन्दै अभिनेत्रीहरूले यस्ता शब्दको विरोध गरेका हुन् ।
यसरी विरोध गर्नेहरूमा अग्रज अभिनेत्री गौरी मल्ल, केकी अधिकारी, रिमा विश्वकर्मा देखि थुप्र्रै अभिनेत्री रहेका छन् । अभिनेत्री केकी अधिकारीले भनेकी छन्, ‘रजतपट नामक टेलिभिजन कार्यक्रमका प्रस्तोताले आफ्नो तीन दशक लामो इतिहासको अप्रासंगिक बखान गर्दै नेपाली महिला कलाकारको शारीरिक बनावट माथि गर्नुभएको छु, टिप्पणी अत्यन्तै अशोभनीय र खेदजनक छ । साथै, त्यसैक्रममा उहाँले प्रयोग गर्नुभएको भाषा, प्रस्तुत गर्नुभएको उदाहरण उहाँकै चरित्र र मानसिकतालाई उदांगो पारिदिएको छ भन्दा फरक नपर्ला,’ उनले अगाडि भनेकी छन्, ‘ढुक्क हुनुहोस्, हामी यस्ता प्रवृत्ति र यस्ता मानसिकताको सदैव विरोध र वहिष्कार नै गर्नेछौं ।’
अभिनेत्री रीमा विश्वकर्माले पनि त्यो शब्दप्रति आपत्ति जनाएकी छन् । नारीहरू हरेक क्षेत्रमा शोषित हुने गरेको बताउँदै उनले गल्ती गर्नेलाई माफी पनि महिलाहरूले नै दिनुपर्ने जिकिर गरेकी छन् ।
अभिनेत्री गौरी मल्लले यसरी नायिकाहरूलाई हतोत्साहित बनाउनु नहुने जिकिर गरेकी छन्, ‘तीन दशकदेखि केही सिकेर आएका हामीले आजका पुस्तालाई माया दिएर हुर्काउने हो, आफ्नो अनुभव साट्ने हो, प्रोत्साहन गर्ने हो न कि उनीहरूलाई फक्रिने मौका नदिई निरुत्साहित बनाउने ।’
अभिनेत्री गौरी मल्लले महिला कलाकारहरूलाई अझ प्रोत्साहित गरेर अघि बढ्न सबैले साथ दिनुपर्ने बताएकी छन्, ‘समय बदलिसकिएको छ, त्यसैले हामी पनि बदलिनु समयको माग हो । युवाहरूसँग हिँड्नुछ भने हात हालेर हैन, हातेमालो गरेर हिँड्न आवश्यक छ ।’
पछिल्लो समय महिला कलाकारलाई लक्षित गरेर सामाजिक सञ्जालमा विभिन्न ट्रोलहरू बनाइएकोप्रति पनि अभिनेत्री गौरी मल्लले दुःख व्यक्त गरेकी छन् । पछिल्लो समय आफू सामाजिक सञ्जालबाट हराउन खोजे पनि निरन्तर महिला कलाकारमाथि विभिन्न लान्छना लगाउन थालिएकाले सामाजिक सञ्जालबाटै विरोध गर्नुपरेको पनि गौरीको कथन छ ।