
काठमाण्डौ । आज पनि देशका थोरै ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले पूर्वानुमान गरेका छन् । तर नजिकै कतै ठूलो पानी परे पनि नजिकै अर्को ठाउँमा नपर्ने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाकी मौसमविद् विभूति पोख्रेलका अनुसार आज दिउँसो गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । यस्तै अहिले बदली भएको धेरै ठाउँको मौसम विस्तारै खुलेपनि बेलुकातिर फेरि पानी पर्ने उहाँको अनुमान छ ।
आज राति पनि प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको उहाँले जानकारी दिनुभयो । केही दिनयता दिउँसो कम पानी पर्दा गर्मी भने बढेको छ ।