
काठमाडौं । कोरोना संक्रमणको जोखिम उच्च भएसँगै लामो दुरीको सार्वजनिक यातायात सञ्चालनमा भदौ १५ गतेसम्म पुनः रोक लगाउने सरकारले निर्णय गरेको छ ।
मन्त्रिपरिषदको सोमबार बसेको बैठकले कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)को सिफारिसअनुसार १ भदौबाट खुला गर्ने भनिएको क्षेत्र थप १५ दिन नखोल्ने निर्णय गरेको हो । भदौ एक गते देखि संचालनको तयारीमा रहेको अन्तर्राष्ट्रिय र आन्तरिक उडान पनि रोक लगाउने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।
कलकारखाना, उद्योग, निर्वाध रूपमा सञ्चालन भइ मजदुरहरूको दैनिक आवतजावत बढेकाले संक्रमणको जोखिम पनि बढेको हुनाले उद्योग तथा कलकारखानाभित्र क्वारेन्टाइनको व्यवस्था गर्ने र स्वास्थ्य मापदण्ड पुरा गरेपछि मात्रै सञ्चालन गर्न दिने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।
यसअघि साउन ५ गतेको मन्त्रिपरिषद् बैठकले १२० दिन लामो लकडाउन अन्त्य गर्दै लामो दूरीका यातायात, बाह्य तथा अन्तरिक हवाई उडान र विद्यालय भर्ना भदौ १ गतेदेखि निर्णय गरेको थियो । मन्त्रिपरिषदको बैठकले भारतबाट आउने नेपालीहरुका लागि तोकिएको प्रवेश बिन्दु २० बाट १० मा झारेको छ भने अन्यत्रबाट आउनेहरुलाई पूर्ण रुपमा निशेष गर्ने निर्णय गरेको छ। साथै उपत्यका प्रवेश गर्ने नाकामा पनि कडाई गर्ने निर्णय गरेको छ ।