
काठमाडौं, २६ साउन । काठमाडौंको पुतलीसडकमा आगलागी भएको छ । काठमाडौं महानगरपालिका–३१ पुतलीसडकस्थित कृष्णशङ्कर कसजुको घरको दोस्रो तलामा आज अपराह्न आगलागी हुँदा कन्सल्टेन्सीमा क्षति पुगेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता सोमेन्द्रसिंह राठौरले आगलागी हुँदा स्टाण्डर्ड एजुकेशन कन्सल्टेन्सीको एक कोठामा क्षति पुगेको जानकारी दिए ।
विद्युत् चुहिएर आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ । कन्सल्टेन्सी बन्द रहेका बेलामा एक्कासी धुवाँको मुस्लो बाहिर निस्केपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले काठमाडौं महानगरपालिकाको दमकलको सहायतामा अहिले उक्त आगो नियन्त्रणमा लिइसकेको छ । आगलागीबाट के कति क्षति भयो भन्नेबारे तथ्याङ्क सङ्कलन भइरहेको प्रहरी उपरीक्षक राठौरले बताए ।
त्यहाँ आगो लागेको थाहा हुने बित्तिकै पुतलीसडक आसपासको एरियामा बिजुली काटेको थियो ।