
आज साँझ ५ बजे मन्त्रिपरिषदको बैठक बस्दैछ।
बैठकमा कोभिड महामारी रोकथामका विकल्पबारे निर्णय गर्ने तयारी भएको छ। यसअगाडि नै मन्त्रिपरिषद बैठकले १ भदौंदेखि पूर्ण रुपमा बन्दाबन्दी अन्त्य गर्ने निर्णय गरेको छ।
गएको ७ साउनमै बन्दाबन्दी अन्त्य गरेपनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान, अन्तरजिल्ला यातायात, स्थलगत आवागमन, शैक्षिक संस्थाहरु खुलेको छैन। १ भदौंदेखि अहिले बन्द रहेका क्षेत्रहरु खोल्ने निर्णय गरेको छ।
तर, बन्दाबन्दी खुलेसँगै महामारीको संक्रमण झनै बढेर गएकाले यो निर्णय अन्योलमा परेको छ। सरकारको तयारी भने पूर्व निर्णय सच्याउँदै बन्दाबन्दी कायमै राख्ने रहेको जनाइएको छ।
गृह मन्त्रालयले एक साता अगाडी काठमाडौं उपत्यका सहित २०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाहरुमा निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको छ भने राति ९ देखि बिहान ५ बजेसम्म हिडडुलमा समेत रोक लगाएको छ।
कोभिड महामारीबाट नेपालमा संक्रमित संख्या २२ हजार ९ सय ७२ पुगेको छ भने ७५ जनाको मृत्यु भइसकेको छ। बढी जनसंख्या रहेको राजधानी उपत्यका, वीरगञ्ज र विराटनगर महानगरपालिका लगायत क्षेत्रमा बन्दाबन्दी खुलेपछि झनै संक्रमण बढेर गएको छ।