
लगातार बढिरहेको सुनको मुल्यमा आइतबार ब्रेक लागेर घटने क्रम सुरु भएसँगै सोमबार पनि सुनको मुल्य घटेको छ ।
गत शुक्रबार नेपालमा सुनको मुल्य प्रतितोला एक लाख ३ हजार ५ सय रुपैयाँ निर्धारण भएको थियो । यो नै सुनको सर्वाधिक मुल्य हो । त्यसपछि क्रमश सुनको मुल्य घट्दो क्रममा रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख २ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार २०० रुपैयाँ घटेर १ लाख २ हजार ४०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै सोमबार तेजावी सुन १ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै चाँदी पनि घटेर सोमबार तोलामा १३ सय ९५ रुपैयाँमा कारोबार भएको छ । आइतबार चाँदी तोलामा १४ सय १० रुपैयाँमा कारोबार भएको थियो ।
कोरोना महामारीका कारण विश्व अर्थतन्त्रमा पारेको असरका कारण सुन बजारमा लगानी गर्नेहरुको संख्या बढेकाले मूल्य बढेको हो । विश्व बजारमा लगानीकर्ताको आकर्षण सुनमा बढेकाले माग बढ्दा मूल्यवृद्धि भएको व्यवसायी बताउँछन् ।