
काठमाडौं । नेपाली कांग्रेस प्रदेश नं १ संसदीय दलले कोरोना नियन्त्रण गर्न र जनताको स्वास्थ्य प्रदेश सरकार जिम्मेवार नदेखिएको आरोप लगाएको छ । कांग्रेस प्रमुख सचेतक केदार कार्कीले आइतबार विज्ञप्ति जारी जनताको ज्यान बचाउन आग्रह गरेका छन् ।
लकडाउन अगाडि नै आफ्नो दलले कोभिड१९ को संक्रमण बढ्ने खतरा औँल्याउँदै सम्पूर्ण तयारी गर्न सरकारलाई झक्झक्याए पनि सरकारले नगरेको कांग्रेसको आरोप छ । ‘मुख्यमन्त्रीबाट दैनिक सामाजिक सञ्जालको भिडियोमा आएर कोरोनासँग लडिरहेको, परास्त गर्न लागेको, घेराबन्दी भइसकेको जस्ता हल्का कुरा गरी जनमानसमा भ्रम छर्ने काम भयो,’ विज्ञप्तिमा भनिएको छ, ‘सरकार आफ्ना कमी–कमजोरी र भ्रष्टाचारबाट जोगिन कोभिड–१९ लाई राम्रोसँग ढालका रूपमा प्रयोग गर्न सफल रह्यो । सरकारले मिडियामा र संसदमा पटक–पटक पर्याप्त मात्रामा आइसोलेसन बेड तयारी गरिरहेको भनी दिएको अभिव्यक्ति अहिले आएर झुटो सावित भएको छ ।’
मुख्यमन्त्री लामो समयसम्म काठमाण्डौ बस्नुले जनताप्रति सरकार कति जिम्मेवार छन भन्ने छर्लङ्ग भएको भन्दै कांग्रेसले अस्पतालको गेटमै ज्यान गुमाउनु पर्ने अवस्था सृजना हुनु दुःखद भएको बतायो । ‘जनताको अगाडि मुखै देखाउन नसकेर मुख्यमन्त्री लामो समयसम्म काठमाण्डौ बस्नुले जनता प्रति सरकार कति जिम्मेवार छन भन्ने छर्लङ्ग भएको छ,’ विज्ञप्तिमा भनिएको छ, कोशी अस्पतालमा अक्सिजनसम्म नहुनु कति लाजमर्दो कुरा हो । लेभल ३ भनेको अस्पताल अझै पूर्ण निर्माण भइनसकेको र बिरामी सिकिस्त हुँदा उपचार गर्न नसक्ने र अस्पतालको गेटमै ज्यान गुमाउनु पर्ने अवस्था सृजना हुनु दुःखद कुरा हो ।’
मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित पूर्वाञ्चल विश्वविद्यालयको अस्पताल लेभल९१, विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, र धरानको वीपी प्रतिष्ठान लेभल ३ भनिएपनि समुदायमा संक्रमण फैलिएर संक्रमित बढेपछि संक्रमितलाई समेत व्यवस्थापन गर्न नसकेको जनाईएको छ । संक्रमित त परै जाओस् लक्षणसहित सास फेर्न गाह्रो परेका बिरामीलाई समेत भर्ना लिने अस्पताल नभएको र पीसीआर टेस्टको दायरा बढाउन दिएको दबाबमा सरकारको लाचारीपन उदेक लाग्ने खालको भएको कांग्रेसको भनाइ छ ।