
कोभिड–१९ को महामारीविरुद्ध लड्न भारतीय सेनाले नेपाली सेनालाई दश ‘आइसियु भेन्टिलेटर’ उपहारस्वरुप प्रदान गरेको छ ।
नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले ती भेन्टिलेटर प्रधानसेनापति पूर्णचन्द्र थापालाई जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा प्रदान गरेका छन् ।
मानवीय सहायता तथा राहतका लागि लामो समयदेखि भारतीय सेनाले नेपाली सेनालाई सहयोग गर्दै आएको छ । दुई देशका सेनाबीच रहिआएको निरन्तर मानवीय सहयोगअन्तर्गत भेन्टिलेटरहरू उपहारस्वरुप प्रदान गरिएको यहाँस्थित भारतीय राजदूतावासले जनाएको छ ।
हस्तान्तरणका क्रममा राजदूत क्वात्राले कोभिड–१९ विरुद्घको लडाइँमा विजय प्राप्तिका लागि नेपालका जनतालाई सबै आवश्यक सहयोग पु¥याउन भारत प्रतिबद्ध रहेको बताए । प्रधानसेनापति थापाले स्वास्थ्य उपकरण प्रदान गरेकामा भारतीय सेनाप्रति आभार व्यक्त गर्नुभयो ।
पछिल्लो समय नेपाल र भारतको सम्वन्धमा तिक्तता आएको छ । नेपालले कालापानी लिपुलेक र लिम्पियाधुरा समेटेर नक्शा सार्वजनिक गरेपछि सम्वन्धमा चिसोपन आएको छ । पछिल्ला दिनहरुमा नेपालका प्रधानमन्त्रीले भगवान रामको जन्मभूमि अयोद्या नभएर नेपालको ठोरीमा भएको अभिव्यक्ति दिएपछि थप चिसोपना आएको परराष्ट्रविदहरुले बताउँदै आएका छन् ।