
नेपालमा कोरोना संक्रमण भयावह अवस्थामा परेको छ । कोरोना संक्रमण समुदायस्तरमा फैलिसकेको अनुमान गरे पनि सरकारले समुदाय स्तरमा फैलिनसकेको बताउँदै आएको छ । केहि दिन देखि कोरोना संक्रमणले वडा अध्यक्ष मेयर हुदै प्रदेश मन्त्री तथा सांसदसम्म पनि पुगिसकेको छ ।
प्रदेश ५ की सांसद कृष्णा केसीलाई कोरोना संक्रमण भएको छ ।
बाँकेको राप्ती सोनारी गाउँपालिका–९ की केसीले शनिबार राति फेसबुकमा स्टाटस लेख्दै आफू कोरोना संक्रमित भएको जनाएकी हुन् ।
उनले एक हप्ता यता आफ्नो सम्पर्कमा आएकाहरूलाई सेल्फ आइसोलेसनमा बस्न र पीसीआर परीक्षण गराउन आग्रह गरेकी छिन् ।
सामाजिक सञ्जालमा उनले लेखेकी छिन्,‘म कोरोना संक्रमणबाट अछुतो रहिनँ, एक हप्तायता मसँग नजिकको सम्पर्कमा आएकालाई सेल्फ आइसोलेसन तथा पीसीआर जाँच गराउन अनुरोध गर्छु।
भेरी अस्पताल नेपालगन्जमा गरिएको पीसीआर परीक्षणमा शनिबार बाँकेका ७ महिलासहित २० जना कोरोना संक्रमित थपिएका थिए । सांसद केसी कोरोना महामारीकै बीच आफ्नो निर्वाचन क्षेत्र नरैनापुरमा विभिन्न कार्यक्रममा सहभागी भएकी थिइन् ।
उनको अहिले भेरी अस्पतालमा उपचार भइरहेको छ ।