बागलुङमा स्क्रब टाइफसका बिरामी फेला परेका छन् । बागलुङको धौलागिरि अस्पतालमा उच्च ज्वरो आएर उपचारका लागि आएका तीन जनामा स्क्रब टाइफस देखापरेको अस्पतालले जनाएको छ । प्राणघातक सङ्क्रमणका रुपमा लिइँदै आएको स्क्रब टाइफस यही साउन महिनामा मात्रै तीन जनालाई फेला परेको धौलागिरि अस्पतालका सूचना अधिकारी तीर्थ गौतमले जानकारी दिए ।
बुधबार मात्रै उच्च ज्वरो आएपछि अस्पताल भर्ना गरिएको जैमिनी नगरपालिका–२ का ४२ वर्षीय पुरुषमा स्क्रब टाइफस देखिएको छ । उनी धौलागिरि अस्पतालमा भर्ना गरी उपचाररत गराइरहेका छन् ।
यस्तै साउन १० गते बागलुङ नगरपालिका–२ का एक र साउन १२ गते पर्वत जिल्लाको फलेवास नगरपालिका–३ का एक जनालाई स्क्रब टाइफस देखिएको थियो । अहिले उनीहरुले निको भएर घर फर्किसकेका छन् । बागलुङमा गत वर्ष सात जनामा स्क्रब टाइफसका बिरामी फेला परेका थिए ।
स्क्रब टाइफस रोग ‘ओरेन्सिया सुसुगमुसी’ नामक परजीवीको सङ्क्रमणले लाग्ने गर्दछ । यो परजीवीलाई एक प्रकारको ‘माइट’ जातिको सूक्ष्म कीराले सार्ने गर्दछ । रोगको कीटाणु बोक्ने ‘माइट’ स–साना बोटबिरुवाको झाडीमा बस्छ । केही वर्षअगाडि सम्म स्क्रब टाइफस धेरैजसो पहाडी र दुर्गम स्थानमा मात्रै देखिँदै आएकामा पछिल्लो समय शहरी इलाकामा पनि देखिँदै आएको छ ।