
मेलम्ची । मेलम्ची खानेपानी आयोजनामा सुरुङको गेट भत्किएर मानवीय क्षतिसमेत भएसँगै आयोजनाको भविष्य नै अन्योलमा रहेको चर्चाबीच यस घटनाबाट आयोजना सम्पन्न हुन दुई सातामात्रै ढिलो हुने जनाइएको छ । गेट भत्कँदा अन्योलमा रहेको मेलम्ची खानेपानी आयोजना तोकिएको समयभन्दा दुई सातामात्रै पछि धकिलिने खानेपानी मन्त्रालयले बताएको छ । गत असार ३० मा परीक्षणका क्रममा सुरुङको गेट फुस्किएर भएको दुर्घटनामा एक इन्जिनियरको मृत्यु भएको थियो भने दुई घाइते भएका छन् । गाडीसँगै बगेका चालक अझै बेपत्ता छन् । घटनाको विषयमा अध्ययन गर्न बनेको प्राविधिक टोलीले आयोजनामा गम्भीर प्राविधिक त्रुटि भएको जनाएको छ । तर, मन्त्रालयले त्रुटी सच्याएर जान समय नलाग्ने भन्दै तोकिएको समयमा दुई साता मात्रै लम्बिनसक्ने बताएको छ ।
छानविन गर्न गठित समितिले गम्भीर प्राविधिक त्रुटिसँगै लापरवाही भएको तथ्य भेटेको छ । खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीको संयोजकत्वमा बनेको समितिले भित्र राख्नुपर्ने गेट बाहिरपट्टीबाट राखिएका कारण पानीको प्रेसर थाम्न नसकेर दुर्घटना भएको निष्कर्ष निकालेको छ । मन्त्रालयलका प्रवक्ता रितेश शाक्यले ठेकेदारको कमजोरीका कारण गेट फुस्किएर दुर्घटना भएको अध्ययनले निष्कर्ष निककालेको जानकारी दिँदै उनले त्रुटी सच्याउन समय नलाग्ने बताए । “भित्र राख्नुपर्ने गेट बाहिर राखिएकाले दुर्घटना भएको हो, दुर्घटनासँगै अव मेलम्ची आउन धेरै ढिला हुन्छ कि भन्ने भ्रम थियो,” उनले भने, “त्रुटी के हो भनेर पत्ता लगाएपछि सच्याउन अब समय धेरै लाग्दैन, मेलम्ची तोकिएको समयभन्दा २ सातामात्रै ढिलाइ हुन सक्छ ।”
भित्रबाट नटबोल्ट खोल्न मिल्नेगरी राख्नुपर्ने गरी डिजाइन गरिएको गेट सजिलोका लागि बाहिरबाट राख्दा त्यसले प्रेसर थाम्न नसकेर दुर्घटना भएको मन्त्रालयले स्वीकार गरेको छ । “अब दुई महिनामा उपभोक्ताको धारामा मेलम्चीको पानी आउने छ, उपभोक्ताको प्रतिक्षाको समय अब सकिदै छ,” एक महिनाअघि पत्रकार सम्मेलनमा बोल्दै मेलम्ची खानेपानी आयोजनाका प्रमुख तिरेशप्रसाद खत्रीले भनेका थिए, “करिब दुई महिना लगाएर परिक्षण सकेपछि नियमति रूपमा मेलम्चीबाट सुन्दरीजल पानी पठाउन सकिने छ ।” उनको अभिव्यक्तिअनुसार आगामी १ महिनामा मेलम्ची खानेपानी उपभोक्ताको धारामा आईसक्नुपर्छ । तर प्राविधिक त्रुटिका कारण गेट फुस्किएपछि थप २ सातामात्रै मेलम्ची खानेपानी आयोजनापछि धकेलिने मन्त्रालयको भनाई छ । खानेपानी मन्त्रालयको भनाइअनुसार आयोजनाको काम सम्पन्न भएमा यसले गर्दा आगामी भदौ महिनासम्ममा उपभोक्ताको धारामा मेलम्ची आईपुग्नुपर्छ । मन्त्रालयका अनुसार हाल मेलम्ची खानेपानी आयोजनाको गेट भित्रबाट राख्नका लागि डिजाइन भएको छ ।
गेट सुरुङको भित्रपट्टीबाट खोल्न मिल्ने र नटबोल्ट पनि भित्रपट्टीबाट नै कस्ने गरी डिजाइन भएको थियो । त्यसलाई मेलम्ची खानेपानी आयोजनाका अधिकारीहरूले स्वीकृत गरेका छन् । तर सुरुङमार्ग भित्रबाट गेट खोल्ने र नटबोल्ट कस्न कठिन हुने भएपछि अडिट टनेलबाटै गएर कस्न मिल्ने गरि राखिएका कारण दुर्घटना भएको समितिको निष्कर्ष छ ।