
काठमाडौं । नेपाल विद्युत् प्राधिकरण ढल्केबर ग्रीड शाखा धनुषाका कार्यालय प्रमुख रितेश गुप्ता एक करोड २४ लाख ९१ हजार १४५ बराबरको चेकसहित सिन्धुली कमलामाई नगरपालिका–९ बाट शनिबार पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेले उनलाई उक्त परिमाणको चेकसहित पक्राउ गरेको हो । पक्राउ परेका गुप्ता प्राधिकरणको उपप्रबन्धक (नवौं तह) हुन् । उनी भुक्तानीका लागि आवश्यक पर्ने कागजात स्वीकृत नहुँदै कार्यालयअन्तर्गत सञ्चालित विभिन्न योजनाको भुक्तानी दिन भनी पहिल्यै चेक काटेर लिई हिंडेको आयोगले जनाएको छ ।
प्रक्रिया नै नपुर्याई चेक लिएर काठमाडौंतर्फ जाँदै गरेको भन्ने सूचनाका आधारमा आयोगको बर्दीबासबाट गएको टोलीले गुप्तालाई पक्राउ गरेको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिएका छन् ।
आयोगका अनुसार हस्ताक्षर भइसकेका कार्यालयका चेक तथा स्वीकृत नभएका सोही चेकसँग सम्बन्धित कागजात लिएर काठमाडौं जाने क्रममा आज गुप्ता पक्राउ परेका हुन् । आरोपी गुप्ताको अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।