
जनकपुरधाम । महोत्तरीको गौशाला नगरपालिकाले नगरभित्र एक साताका लागि लकडाउन गर्ने निर्णय गरेको छ। शनिबार नगरपालिकाको कार्यालयमा बसेको सर्वपक्षीय छलफलमा आइतबार राति ११ बजेदेखि साउन ३१ गते शनिबार ११ बजे रातिसम्म लागू हुने लकडाउन गर्ने निर्णय गरेको नगरप्रमुख शिवनाथ महतोले जानकारी दिए।
नगरप्रमुख महतोको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकमा समुदायस्तरमै कोरोना संक्रमण फैलिन सक्ने भन्दै अति आवश्यक औषधी पसल र स्वास्थ्य चौकीबाहेक हाटबजार, पसल, बैंक, वित्तीय संस्था, सवारी साधन बन्द गर्ने निर्णय गरेको हो।
लकडाउन अवधिभित्र बाहिरी आवतजावत बन्द गरेर समुदायमा संक्रमणको अवस्था बुझ्न गौशाला उद्योग वाणिज्य संघको समन्वयमा पिसिआर प्रविधिबाट कोरोना परीक्षण गरिने नगर प्रमुख महतोले बताए।
यसअघि नै महोत्तरीको जलेश्वर नगरपालिका, भंगहा नगरपालिका, महोत्तरी गाउँपालिकामा समेत निषेधाज्ञा जारी गरिएको छ।