
झापा । कुनैबेला जिल्लाकै अग्रणी रहेको वित्तीय संस्था मेचीनगरको महेन्द्रद्वार सहकारी संस्था विगतको साखलाई फर्काउने दिशामा अघि बढिरहेको छ । पुरानो इतिहासलाई जीवन्त राख्नका लागि सक्रियताका साथ संस्था लागिपरेको हो ।
घाटामा रहेको सहकारीलाई नाफामा बदल्न संस्थाले विभिन्न रणनीतिक योजना अघि सारेर सञ्चालन गरिरहेको छ । सहकारीलाई उत्पादनसँग जोड्ने उद्देश्यले तेजपत्तालगायत औषधिजन्य वनस्पति प्रशोधन केन्द्र सञ्चालनको अन्तिम तयारीमा रहेको संस्थाका अध्यक्ष राजकुमार (राजु) दाहालले बताए । महेन्द्रद्वार सहकारी संस्थाको जडीबुटी प्रशोधन केन्द्र झापा मेचीनगर–८ स्थित इटाभट्टामा १ करोड ६८ लाख रुपैयाँ लागतमा बन्दैछ । आउँदो मंसिर महिनादेखि उद्योग सञ्चालनमा ल्याउने गरी काम भइरहेको संयोजक कुन्दन निरौलाले जानकारी दिए ।
संस्थाको स्वामित्वमा रहेको साढे ८ कट्ठा जमिनमा बन्दै गरेको जडीबुटी प्रशोधन केन्द्रमा चाहिने आवश्यक मेसिनरी सामानहरु भारतबाट ल्याइसकेको र अब केही दिनभित्रैमा उक्त मेसिनरी सामान फिटिङ गरिने उनले बताए । ‘लकडाउने गर्दा उद्योग सञ्चालनमा केही ढिलाई हुन पुग्यो,’ संयोजक निरौलाले भने, ‘अब प्राविधिक झिकाएर १५ दिनमा सबै काम सक्नेगरी हामी जुटेका छौं ।’
उनका अनुसार प्रशोधन मेसिन, प्याकेजिङ मेसिन तथा प्राविधिकका लागि गरेर जम्मा १ करोड ३३ लाख रुपैयाँ खर्च भएको छ । प्रशोधन केन्द्रलाई व्यवस्थित गरी सञ्चालनमा ल्याउनका लागि कार्यालय भवन निर्माण, बाटो मर्मत, पोखरीमा अहिलेसम्म ३४ लाख ९८ हजार रुपैयाँ खर्च भएको संयोजक निरौलाले बताए ।
प्रशोधन केन्द्र सञ्चालनमा आएपछि उद्योगले किसानहरुबाट तितेपाती, असुरो, मसला, पाउलेनिया, मेन्था, लेमन ग्रासलगायतका प्रजातीका जुडीबुटी खरिद गरी कच्चापदार्थ (तेल) उत्पादन गर्नेछ । उद्योगले दैनिक ५ टन कच्चा पदार्थ उत्पादन गर्ने जनाइएको छ ।
प्रशोधन उद्योग सञ्चालनमा ल्याउने अन्तिम तयारी गरिरहेका बेला संस्थाले किसानहरुलाई जुडीबुटी खेती विस्तारका लागि प्रोत्साहन पनि गरिरहेको छ । किसानहरुसँग खेतीको महत्व र बजारको सम्भावनाका विषयमा विभिन्न चरणमा छलफल गरिरहेको संस्थाका अध्यक्ष दाहाल बताउँछन् ।
मेचीनगरको पाँचपोखरी, तेलपानी, बहुवन सामुदायिक वनहरु जडीबुटी खेतीका लागि उपयुक्त रहेको बताइएको छ । त्यस्तै, संस्थाले बाहुनडाँगी सीमा क्षेत्रमा जुडीबुटी खेती विस्तार गर्नसके हात्ती नियन्त्रणमा पनि सहयोग पुग्ने दाबी गरेको छ । सम्भावनायुक्त क्षेत्र र वनहरुसँग खेती विस्ताका लागि सहकार्य गरिने पनि संस्थाले जनाएको छ ।
विस्तारै तङ्ग्रिदै गरेको महेन्द्रद्वार सहकारीले वर्तमानको क्रियाशीलताबाट आफ्नो कार्यलाई सुधारात्मक दिशातर्फ उन्मुख गराइरहेको छ । अब संस्थालाई उत्पादनसँग जोडेपछि विगतको साखलाई पुनः फर्काउन सक्ने आधार बन्नेछ ।
सदस्यहरुले आफ्नो निजी जमिनमा व्यावसायिक रुपमा नगदे बालीका रुपमा लगाइएका तेजपत्तालगायत औषधिजन्य वनस्पतिहरु सस्तो मूल्यमा भारतीय व्यापारीहरुले खरिद गरी लगिरहेका छन् । स्थानीय तवरमै तेजपत्ता लगायत औषधिजन्य वनस्पतिको प्रशोधन केन्द्र सञ्चालन गरेर संस्थाका शेयर सदस्यहरु लगायत अन्य उक्त खेतीमा संलग्न किसानहरुले उचित मूल्य प्राप्त गर्न सक्ने वातावरण बन्ने सहकारी अध्यक्ष दाहालले बताए ।
औषधिजन्य वनस्पतिहरु भारत निकासी भइरहेका कच्चा पदार्थबाट उत्पादित तेल, सौन्दर्य सामाग्री, खाद्य वस्तुहरु (मसला) उत्पादित हुने हुँदा विदेशी मुद्रा समेत प्राप्त गर्न सकिने संस्थाका अध्यक्ष दाहालले बताए । २०३४ सालमा दर्ता भई सञ्चालनमा आएको महेन्द्रद्वारले सहकारी आन्दोलनमा झापामा अग्रणी भूमिका निर्वाह गरेको थियो । झापामा राष्ट्रिय सहकारी बैंक स्थापना गर्नका लागि आवश्यक पहल पनि गरेको थियो । संस्थाले तत्कालीन अवस्थामा करीव १० बर्ष जति आफ्ना गतिविधिहरु सोचे जसरी गर्न सकेको थिएन । तर, चार वर्षयतादेखि संस्था चलायमान भएको छ ।