
पर्साको वीरगञ्जमा २० वर्षीया युवतीलाई अस्पतालले समयमा उपचार गर्न नमान्दा ज्यान गएको छ ।
४/५ दिनदेखि ज्वरो , रुघाखोकीले सिकिस्त बनेकी ति युवतीलाई उपचारको लागि समयमा अस्पताल नल्याईएको र सिकिस्त भएपछि उपचारको लागि एउटा अस्पतालदेखि अर्को अस्पताल लैजार्दै गर्दा समयमा उपचार हुन नपाई मृत्यु भएको कोभिड विशेष अस्पताल गण्डकका कोर्डिनेटर डा. उदय नारायण सिंह बताउँछन् ।
अस्पतालहरुले मानवता नै बिर्सिएर सिकिस्त बिरामीहरुको उपचार नै गर्न छाडेकाले पछिल्ला केही दिन यता मानिसहरुले अकालमा ज्यान गुमाउनु परिरहेको छ ।
ज्वरो तथा रुघाखोकीले सिकिस्त बनेकी ती २० वर्षिय महिलालाई शुक्रबार एकपछि अर्को गर्दै वीरगञ्जका निजी अस्पतालहरु एडभान्स अस्पताल , तराई अस्पताल , भवानी अस्पताल , वयोधा अस्पताल र नेशनल मेडिकलले भर्ना गरी उपचार गर्न नै नमानेको मृतक महिलाका आफन्तहरु बताउँछन् ।
नीजि अस्पताल मात्र नभई सरकारी अस्पताल नारायणी अस्पतालका डिउटीमा रहेका कर्मचारीहरुले समेत बिरामीलाई उपचार गर्न नमानेपछि उनीहरुकै सुझाव अनुसार अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयर अस्पतालमा लगिएको तर त्यहा कोरोना संक्रमितको मात्र उपचार गरिने भन्दै फर्काएपछि नारायणी अस्थायी कोभिड विशेष अस्पताल गण्डकका कोर्डिनेटर डा. उदयनारायण सिंहको सिफारिसमा अस्थायी कोभिड विशेष अस्पताल गण्डकमा शंकास्पद कोरोना संक्रमितको रुपमा उपचार सुरु गरिएको थियो ।
शंकास्पद कोभिड संक्रमितको रुपमा उपचाररत युवतीको शनिबार बिहान गए राती २:०० बजे मृत्यु भएको छ ।
मृतक महिलाको स्बावको नमूना संकलन गरी पिसिआर परिक्षणको लागि नारायणी अस्पतालको प्रयोगशालामा पठाईएकाले साझसम्म रिर्पोट आईसक्ने अस्पताल स्रोत बताउँछ ।