
उपत्यकामा दिनहुँ ठूलो संख्यामा कोरोना संक्रमित बढेपछि मानिसको अत्याधिक भीड हुने क्षेत्रहरु सिल गरिने भएको छ ।
शुक्रबार मात्रै उपत्यकामा १ सय ६ नयाँ संक्रमित फेला परेका छन् । तीन अंक (१०० वा सो भन्दा माथि)मा कोरोना संक्रमित भेटिन थालेपछि बढी भिडभाड हुने र संक्रमित भेटिएका क्षेत्रहरु सरकारले सिल गर्ने तयारी गरेको हो ।
उपत्यकाको पहिलो व्यापारीक केन्द्र असन, इन्द्रचोक, टेकु र न्यूरोड क्षेत्र सिल गरिने भएको हो । काठमाडौं जिल्ला प्रशासन कार्यालयले शुक्रबार राति १२ बजेदेखि यी व्यापारिक क्षेत्रहरु सिल गर्ने बताएको छ ।
आज काठमाडौं जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले कोरोना संक्रमित भेटिएका तथा अति जोखिम क्षेत्रहरु सिल गर्ने निर्णय गरेको हो । साथै काठमाडौं उपत्यकाका तिनै जिल्लामा रहेका अत्यावश्यक बाहेकका सरकारी कार्यालयहरु १५ दिनको लागि बन्द गरिने भएको छ ।