
सुनको मूल्य आज पनि प्रति तोला १ हजार एक सय रुपैयाँ बढेको छ । दुई सातादेखि निरन्तर उकालो लागेको छापावाल सुन आज प्रति तोला १ लाख २ हजार पाँच सयमा कारोवार भएको हो ।
लकडाउन खुलेपछि निरन्तर उकालो लागेको सुनको भाउले आज फेरि नयाँ रेकर्ड कायम गरेको हो । सुनको मुल्य हिजो पनि प्रति तोला १ हजार ६ सय रुपैयाबाट बढेर १ लाख १ हजार ४ सय रुपैयाँमा कारोवार भएको थियो ।
त्यस्तै तेजावी सुन आज १ लाख २ हजारमा कारोबार भैरहेको छ । सुनको मुल्य अन्तर्राष्ट्रिय बजारमा प्रति औंस २८ डलरले बृद्धि भएपछि त्यसको असर नेपाली बजारमा पनि देखिएको हो ।
चाँदी आज तोलामा ५० रुपैयाँ बढेर तोलाको १३ सय ४५ रुपैयाँ पुगेको छ । मूल्य बढेपनि बजारमा सुनको कारोवार भने ठप्प जस्तै छ ।
कोरोना महामारीका कारण विश्व अर्थतन्त्रमा पारेको असरका कारण सुन बजारमा लगानी गर्नेहरुको संख्या बढेकाले मूल्य बढेको हो । विश्व बजारमा लगानीकर्ताको आकर्षण सुनमा बढेकाले माग बढ्दा मूल्यवृद्धि भएको व्यवसायी बताउँछन् ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आकाशिने क्रम नरोकिएकाले नेपाली बजारमा पनि यसको असर पर्ने देखिन्छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले केही दिनभित्रै सुनको भाउ नेपालमा एक लाख ३० हजारसम्म पुग्ने आँकलन गरेको छ ।
गत वर्ष साउन २१ गते तोलाको ६८ हजार रुपैयाँमा कारोबार भएको भएको थियो । सुन एक वर्षपछि तोलामा ३३ हजार चारसयले बढेको हो । बुधबार विश्वबजारमा प्रति आउन्स दुई हजार ५५ डलरमा कारोबार भएको छ । मूल्य अत्याधिक बढेपछि किन्नेभन्दा बेच्नेको संख्या बढी रहेको व्यवसायी बताउँछन् ।
कोरोना महामारीका कारण विश्व अर्थतन्त्रमा पारेको असरका कारण सुन बजारमा लगानी गर्नेहरुको संख्या बढेकाले मूल्य बढेको हो । केही दिनभित्रै सुनको भाउ नेपालमा १ लाख ३० हजारसम्म पुग्ने आँकलन गरिएको छ ।