
काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले आक्रामक रुपमा एफटीटीएच इन्टरनेट सेवा विस्तार गर्न सुरु गरेको छ । हाल ३५ जिल्लाका ७३ स्थानमा पुगिसकेको यो सेवालाई अबको एक वर्षभित्र १७६ स्थानीय तहमा पुर्याउने कम्पनीको लक्ष्य छ ।
टेलिकमले पछिल्ला वर्षहरुमा फाइबर टु दी होम ९एफटीटीएच० इन्टरनेट विस्तारलाई प्राथमिकताका साथ अगाडि बढाइरहेको छ । कम्पनीले चालु आर्थिक वर्षका वार्षिक कार्यक्रममा समेत यसलाई मुख्य परियोजनाको रुपमा अघि बढाएको छ ।
कम्पनीले यो आवमा सेवा वितरणका लागि तीन लाख लाइन तयार गर्ने र ग्राहक संख्या दुई लाख २० हजारको हाराहारीमा पुर्याउने लक्ष्य बनाएको हो । कम्पनीका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीका अनुसार अघिल्लो आर्थिक वर्षमा नेपाल टेलिकमको फाइबर इन्टरनेट प्रयोगकर्ता ४ हजारमात्रै थिए ।
गएको आवमा ५० नेटवर्क र ६७ हजार ग्राहक थपिएका छन् । ‘गत आवमा थपिएका ५० हजार नेटवर्कसँगै कूल दुई लाख आठ हजार लाइनको नेटवर्क रेडी अवस्थामा छ,’ अधिकारी भन्छन, ‘यसको अर्थ दुई लाख आठ हजार ग्राहकलाई इन्टरनेट सेवा दिन सकिने पूर्वाधार अहिले नै तयार भएको छ ।’
चालु आवमा कूल तीन लाख लाइन तयार गर्ने र ग्राहक संख्या दुई लाख २० हजारको हाराहारीमा पुर्याउने कम्पनीको योजना छ । त्यसका लागि पुरानो एडीएसएल प्रयोगकर्तालाई फाइबर इन्टरनेटमा रुपान्तरण गरिने छ ।
यो परियोजना कम्पनीले गत बर्षबाटै सुरु गरेको थियो । यो वर्ष सबैभन्दा उच्च प्राथमिकताका साथ अघि बढाइएको टेलिकमले उल्लेख छ ।
चालु आर्थिक वर्षमा एक लाख ७६ हजार एडीएसएल प्रयोगकर्तालाई एफटीटीएचमा रुपान्तरण गर्ने योजना रहेको अधिकारीले सुनाए । उनले भने, ‘त्यस बाहेक ४५ हजार नयाँ फाइबर प्रयोगकर्ता थप गर्ने योजना रहेको छ ।’
लकडाउन पछिको अवस्थाले यो तथ्याङ्कमा ठूलो परिवर्तन आउने अपेक्षा कम्पनीले गरेको छ । अधिकारी अगाडि भन्छन्, ‘लकडाउनपछि नयाँ जोड्ने र एडीएसएल बाट रुपान्तरण हुनेको संख्या एउटै हाराहारीमा छ । नयाँ जडान हुनेको संख्या उल्लेख रुपमा बढेकाले हाम्रो योजनाभन्दा बढी हुने देखिएको छ ।’