
कोशी अस्पताल विराटनगरको कोभिड–१९ उपचार केन्द्रबाट ९० वर्षीया वृद्धाले दश दिनमै कोरोना सङ्क्रमण मुक्त भएर घर फर्केकी छिन् ।
विराटनगर–६ निवासी मधु भट्टराई अस्पताल भर्ना भएको दशदिनकै दिन डिस्चार्ज भएर घर फर्केकी हुन् ।
९० वर्षीया ज्येष्ठ नागरिकले कोरोनामुक्त भएपछि प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले उनलाई अस्पताल पुगेर सम्मानसहित बिदाई गरे ।
अस्पताल भर्ना हुँदा भट्टराईमा कोरोना लक्षण देखिएको थिएन । मधुमेह, उच्चरक्तचापसहितका समस्या भएपनि भट्टराईमा लक्षण नदेखिएको र स्वास्थ्य अवस्था स्थिर रहेपछि १० दिनको दिन स्वाब संकलन गरिएको थियो ।
बुधबार आएको रिपोर्टमा २१ जनाको नेगेटिभ देखिएको हो । जसमा ९० वर्षीया भट्टराईको समेत नेगेटिभ आएको हो ।
अस्पताल स्थापनादेखि हालसम्म भर्ना भएका २४७ जनामध्ये २०३ जना डिस्चार्ज भईसकेका छन् । अस्पतालमा बुधबारसम्म ४३ सक्रिय संक्रमित रहेका छन् ।