
सर्लाही । जिल्ला प्रशासन कार्यालय सर्लाहीले बुधबार बिहान ६ बजेदेखि साउन २७ गते मंगलवार राति १२ बजेसम्मसम्म लागू हुने गरी स्थानीय प्रशासन ऎन, २०२८ को दफा ६ (३) बमोजिम ७ दिनसम्मका लागि अत्यावश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन सर्लाही जिल्लाभर लकडाउन जारी गरेको छ ।
साउन २० गते मंगलवारका दिन जिल्ला सुरक्षा समिति, कोरोना संकट व्यवस्थापन केन्द्र तथा जिल्ला विपद व्यवस्थापन समितिको त्रिपक्षीय बैंठकले सो निर्णय गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी गराए ।
कोरोना भाईरस (कोभिड-१९ं) को संक्रमणबाट बच्नका लागि भारतसँग जोडिएका सबै सीमा नाकाहरु ‘सिल’ गरिएता पनि चोर नाकाहरुको फाइदा उठाउँदै दुईतर्फी आवतजावत सुचारु रहेको र समुदाय स्तरमा कोरोनाले भयावह रुप लिन थालेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।
यद्यपि प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार भीडभाड हुन नदिन तथा संभावित संक्रमण फैलिनबाट सर्वसाधारणलाई जोगाउन उक्त निर्णय गरिएको बताए ।
उनले भने, ‘निषेधाज्ञा अवधिभर अनुमति प्राप्त सवारी साधन, एम्बुलेन्स, विरामी बोकेको गाडी, दमकल, दुध बोक्ने गाडी, खाद्य वस्तु बोकेको गाडी, शवबाहन, स्वास्थ्यकर्मी र असुरक्षा निकायले प्रयोग गर्ने सवारीसाधन बाहेक सबै प्रकारका सार्वजनिक वा निजि यात्रुबाहक सवारीसाधन (मोटरसाइकल समेत) सर्लाही जिल्लाभर पूर्णरुमा निषेध गरिएको छ ।’
सम्मका लागि जिल्लाका नगरपालिका तथा गाउँपालिका सहित सम्पूर्ण सरकारी कार्यालयहरुबाट सेवा भने बन्द नगरिने प्रजिअ पौडेलले बताए ।