
देशमा कोरोना संक्रमण बढेर फेरी लकडाउन हुन्छ कि भन्ने आम मानिसहरुको कौतुहलता रहेको बेला सरकारका प्रवक्ता समेत रहेका अर्थ सूचना तथा संचार मन्त्रि डा युवराज खतिवडाले पुन लकडाउन नहुने कुरा बताएका छन् ।
अर्थमन्त्री डा. युवराज खतिवडाले संक्रमितको संख्या बढे पनि फेरि लकडाउन नगर्ने बताएका हुन् । उनले अर्थतन्त्रलाई चलायमान बनाउन फेरि लकडाउन गर्ने सम्भावना नहरेको बताए ।
प्रधानमन्त्रीले विभिन्न क्षेत्रका विज्ञहरूसँग छलफल गरेको जानकारी दिँदै उनले भने, “सरकारले स्वास्थ सुरक्षा मापदण्ड पूरा गर्दै आर्थिक क्रियाकलापलाई अगाडि बढाउने प्रयास गरेको छ। त्यसबाट पछाडि फर्कनेभन्दा परिमार्जन गरेर अगाडि बढ्नुपर्छ।”
अर्थमन्त्री डा. खतिवडाले भीडभाड हुने क्षेत्रहरू सञ्चालनमा हतार नगर्ने, तर फेरि आर्थिक क्षेत्र ठप्प नपार्ने संकेत गरे। उनका अनुसार यातायात, शैक्षिक संस्था र भीडभाड हुने क्षेत्र तत्काल खुल्ने सम्भावना छैन।
यस्तै, कोरोना संक्रमितहरूको संख्या बढ्दै गएपछि प्रधानमन्त्रीले विज्ञहरू गरेको छलफलका क्रममा सरकारले खोल्न अनुमति नदिएका क्षेत्रलाई प्रभावकारी रूपमा लागू गर्न विज्ञहरूको सुझाव दिएको उनले बताए।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा जनस्वास्थ्य विज्ञहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कम्तिमा पनि १५ दिनजति पूर्ण रुपमा लकडाउन गर्न सुझाव दिएका छन् ।
तर ४ महिनाको लकडाउनले आक्रान्त बनेका आम मानिसहरु भने लकडाउन अन्तिम विकल्प भएकोले अरु विकल्पबारे पनि सरकारले सोच्नुपर्ने बताउँछन् । दैनिक गुजारा गरेर बिहान बेलुकाको छाक टार्ने श्रमिक वर्गहरु लकडाउनमा सबैभन्दा बढी मर्कामा परेका थिए ।