
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले आफू पार्टी एकताको पक्षमा रहेको बताउँदै कुनै पनि गुटमा नलाग्ने स्पष्ट पारेका छन् ।
उपाध्यक्ष गौतमका सहयोगी विश्वमणि सुवेदीले अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष गौतमबीच मंगलबार भएको भेटका बारेमा स्पष्ट पार्दै बुधबार बिहान जारी गरेको प्रेस नोटमा गौतमले आफू कुनै गुटमा नलाग्ने स्पष्ट पारेको जानकारी गराएका छन् ।
“नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्ष्पकमल दाहालले साउन २० गते मंगलबार बिहान पार्टी उपाध्यक्ष तथा संगठन विभागका प्रमुख वामदेव गौतमसँग भेट गर्नुभएको सन्दर्भमा विभिन्न टिकाटिप्पणी भइरहेका छन्,” उनले भनेका छन्, “ उक्त भेटमा अध्यक्ष प्रचण्डले उपाध्यक्ष गौतमसँग पार्टीसँग सम्बन्धित केही विषयमा संक्षिप्त कुरा गरेको बताइएको छ ।”
साउन १३ गते नै उपाध्यक्ष गौतमले पार्टी विग्रह तत्काल रोक्नका लागि दुवै अध्यक्षसमक्ष राखेको प्रस्तावलाई अर्का अध्यक्ष केपी शर्मा ओलीले समर्थन रहेको स्पष्ट पारिसकेका छन् । अध्यक्ष दाहालसँगको भेटमा गौतमले आफू कुनै निश्चित नेता वा विचार समूहको पक्षमा नभइ पार्टी एकताप्रति दृढ रहेको स्पष्ट पारेका छन् ।
“प्रचण्डले अब तपाईँ के गर्नुहुन्छ ? भनी सोध्नुभयो,” सुवेदीले भनेका छन्, “उपाध्यक्ष गौतमले म ठूलो सानो कुनै पनि गुटमा लाग्दिनँ भनी प्रचण्डलाई बिदा गर्नुभयो ।”
यसअघि प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओली पत्नी राधिकालाई लिएर भैसेपाटी पुगेका थिए ।
गौतमले अघि सारेको ६ बुँदे प्रस्तावमा सरकारको नेतृत्व प्रधानमन्त्री ओलीले नै गर्ने र अर्को महाधिवेशन सम्म पार्टीको अध्यक्ष पनि ओली नै हुने उल्लेख छ ।
प्रधानमन्त्री ओलीले सरकार र पार्टी दुवैको नेतृत्व छाड्नुपर्ने दवाब पार्टीभित्र छ । तर ओलीले दुवै पद कुनै पनि हालतमा नछाड्ने अडान लिदैं आएका छन् ।