
सुनको भाउ तोलाको एक लाख रुपैयाँ नाघेको छ ।
आज एकैदिन तोलामा १६ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको एक लाख एक हजार ४ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज सुनको भाउ प्रति औंस ४० डलरले बढेको छ । यस्तै हिजो र अस्ति स्थिर रहेको चाँदीको भाउ आज तोलामा ६५ रुपैयाँ बढेको छ ।चाँदी आज तोलाको १२ सय ९५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।
सुनचाँदी व्यवसायी भन्छन्–व्यवसाय जोगाउनै गाह्रो भयो
सुनको मूल्य बढेपछि व्यवसायीहरुलाई सुन विक्री गर्नुभन्दा व्यवसाय नै टिकाउन समस्या परेको नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चका अध्यक्ष गणेशप्रसाद लकान्द्रीले बताए ।
सुनको मूल्य बढ्दा उपभोक्तालाई मात्र नभई व्यवसायीहरू पनि घाटामा रहेको अध्यक्ष लकान्द्रीले बताए । उनी भन्छन्, ‘दिनमा एकतोला सुन पनि बिक्री हुन सकेको छैन । उपभोक्ता मात्र होइन हामी व्यवसायीहरूले पनि घाटा व्यहोरेका छौं ।’
कोभिड–१९ मात्र नभई विश्वका उद्योग तथा कलकारखाना बन्द भएपछि सुनको मूल्य बढेको उनको भनाइ छ । सुनको मूल्य बढेर १ लाख ४० हजारसम्म पुग्नसक्ने अनुमान गर्दै लकान्द्रीले यस्तो अवस्था आए व्यवसायीहरूले पसल बन्द गर्नुको विकल्प नहुने बताए ।