
आगामी २४ घण्टाभित्र प्रदेश १, प्रदेश २, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका १ वा २ स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले सतर्क रहन चेतावनी दिएको छ ।
बुधवार बिहानै मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले बाढी र डुबानको खतराबाट बच्न सतर्कता अपनाउन अनुरोध गरेको छ ।
ती स्थानहरूका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ,’ बुलेटिनमा उल्लेख छ ।
देशका अन्य केही स्थानमा समेत मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मनसुनी न्युन चापीय रेखा हाल नेपालभन्दा दक्षिणतर्फ रहेको जनाउँदै महाशाखाले देशभर आंशिकदेखि सामान्य बदली रहेको जनाएको छ । देशभर सामान्य बदली, मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना आगामी ३ दिनसम्मै रहेको महाशाखाले जनाएको छ ।