
मोरङको रंगेली नगरपालिकामा एकै परिवारका १४ सहित थप २२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
कोसी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा रंगेली अस्पतालमा कार्यरत ३ जना कर्मचारी, एउटै परिवारका १४ जना व्यक्ति र अन्य ५ जनामा कोरोना संक्रमण पाइएको हो । १४ जना संक्रमित भेटिएको परिवारमा एकजना महिला १५ दिन अघि भारतको नयाँ दिल्लीबाट आएको बताइएको छ ।
उनैबाट संक्रमण फैलिएको हुनसक्ने अस्पतालले जनाएको छ ।
तर उनको भने कोरोना परिक्षण अहिलेसम्म नभएको र आज स्वाब संकलनको तयारीमा रहेको अस्पतालले जनाएको छ । भारतबाट आएपछि उनी विराटनगरस्थित एक अस्पतालमा उपचाररत आफ्ना बुवालाई पनि भेट्न पुगेकी थिइन् । उनका बाबुको अस्पतालमै मृत्यु भएको रंगेली नगरपालिकाका मेयर दिलिप कुमार अग्रवालले बताए ।
एकैपटक २२ जनामा संक्रमण देखिएपछि नगरपालिकाले रंगेली बजार क्षेत्र अर्को निर्णय नभएसम्मको लागि सिल गरेको छ ।
नगरपालिकाले एक सूचना जारी गर्दै कोरोना भाइरसबाट हुन सक्ने जोखिमलाई मध्यनजर राखि सोमबार राति १२ बजेदेखि लागू हुने गरी सिल गरिएको जानकारी दिएको छ ।