
सप्तरी । कोरोना संक्रमणको जोखिम बढेपछि सप्तरी र धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा निषेधाज्ञा जारी गरिएको छ ।
सप्तरी जिल्लाभरी र धनुषाको जनकपुरधाम उपमहानगरपालिकाभित्र एक हप्ताका लागि निषेधाज्ञा जारी भएको हो । सप्तरीका प्रमुख जिल्ला अधिकारी शङ्कर हरि आचार्यले सप्तरीमा अहिलेसम्म ५३१ जनामा कोरोना सङ्क्रमण भेटिएपछि आज बिहान ५ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको जानकारी दिएका छन् ।
अत्यावश्यक काम बाहेकका सम्पूर्ण आवतजावत, गाडी, पसल बन्द रहने पनि प्रमुख जिल्ला अधिकारी आचार्यले बताएका छन् । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ ९३० र सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम अनावश्यक हिंडडुल, आवतजावत गर्न प्रतिबन्ध लगाइएको हो ।
त्यस्तै औषधि पसल, खाद्यान्न, अस्पताल तथा स्वास्थ्य सेवा केन्द्र, मालसमान ओसारपसार गर्ने र निर्माण कार्यमा प्रयोग हुने ढुवानीका यातायात, सरकारी छापाखाना, सञ्चार सेवा, बैंकिङ सेवा आन्तरिक सुरक्षा कार्य, कृषि तथा पशुजन्य उत्पादन ढुवानीमा प्रयोग हुने साधन, वर्कशपजस्ता अत्यावश्यक सेवाबाहेकका अनावश्यक आवतजावतमा निषेधाज्ञा लगाइएको छ ।