
चीनको जनमुक्ति सेनाले लिपुलेक पास नजिकै थप सैनिक तैनाथ गरेपछि यले भारतमा तरंग ल्याएको छ । यसअघि भारतले उपभोग गर्दै आएको यो क्षेत्रलाई हालै नेपालले आफ्नो नक्सामा समेटेको थियो ।
नेपाल र भारतबीच विवाद रहेको यो क्षेत्रमा चीनको हस्तक्षेप हुन सक्ने संकेत देखिएपछि अहिले नयाँ दिल्लीमा तरंग आएको छ । यो क्षेत्र नेपाल भारतबीच विवादित त छ नै, चीनको पनि सीमा नजिकै पर्छ ।
डेक्कन हेराल्डले यस क्षेत्रमा चीनले ठूलो संख्यामा सैनिक तैनाथ गरेको लेखेको छ तर नेपालको दार्जुला जिल्लाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले भने यस विषयमा आफूलाई जानकारी नभएको बताएका छन् ।
नेपालले सुगौली सन्धिअनुसार कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र आफ्नो हुने भएकोले यो क्षेत्र समेटेर नयाँ नक्सा जारी गरेको हो । तर, भारतले भने नेपालले चीनको आडमा यी क्षेत्र समेटेर संशोधित नक्सा जारी गरेको दावी गर्दै आएको छ ।
भारतको यही बुझाइका कारण उसले अहिलेको चीनको गतिविधिलाई पनि नेपाललाई ‘ब्याकअप’ दिने र भारतलाई पछि हट्न दबाब दिने संकेतको रुपमा बुझेको छ ।
यो बुझाइपछि नयाँ दिल्लीमा अहिले लिपुलेकमा चीनको हस्तक्षेप हुने आशंकाले नयाँ तरंग आएको छ ।