
काठमाडौँ। कोरोना भाइरस (कोभिड – १९)को संक्रमणपछि जटिल स्वास्थ्य अवस्था भएका एक जना बिरामीलाई त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरुले कन्भालेसेन्ट प्लाज्मा थेरापीबाट उपचार गरी निको बनाएका छन् ।
उनीहरुले यो उपचार विधि नेपालमै पहिलो भएको समेत दावी गरेका छन् ।गत शनिबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट रिफर भई त्रिवि शिक्षण अस्पताल आइपुगेका बिराटनगरका एक ६० बर्षिय कोरोना संक्रमितको अवस्था नाजुक भइसकेको थियो ।शिक्षण अस्पतालका विज्ञ डाक्टरहरुले शनिबारबाटै उनको अवस्थामा सुधार ल्याउन अनेकन प्रयास गरे तर सफल भइरहेका थिएनन् ।
पाँच दिन पछि बुधबार त्रिवि शिक्षण कोभिड व्यवस्थापन समितिको बैठक बस्यो र अन्तिम बिकल्पको रुपमा कन्भालेसेन्ट प्लाज्मा थेरापीबाट उपचार गर्ने निधो गरे । सोही दिन राती बिरामीलाई प्लाज्मा दिइयो ।
‘पाँच दिनसम्म नाजुक बन्दै गएको बिरामी छैटौँ दिनमा एक्कासी सुधार देखियो ।
अहिले पनि आइसीयूमा हुनुहुन्छ तर हिडन थाल्नु भएको छ, खान थाल्नु भएको छ मज्जाले बोल्न थाल्नु भएको छ, कोभिड व्यवस्थापन समितिका संयोजक प्राडा शान्तकुमार दासले बिरामीको अवस्था सुनाए ।
उनले अब भोलिसम्ममा आइसीयूबाट बाहिर निकाल्ने र एक दुई दिनमा पीसीआर जाँच गरी नेगेटिभ आए डिस्चार्ज गर्ने योजना रहेको समेत जानकारी दिए ।