
सप्तरीको एक गाउँपालिकामा समुदायमै संक्रमण फैलिएको आशंका गरिएको छ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-२ लौनियाँमा एकैदिन २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
एउटै वडामा ठूलो संख्यामा कोरोना संक्रमण पुष्टि भएपछि समुदाय स्तरमा कोरोना फैलिएको आशंका गरिएको छ । तर यसलाई आधिकारिक रुपमा भने कतैबाट पुष्टि भएको छैन ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार सो वडामा ४ वर्षीय बालकदेखि ७१ वर्षका वृद्वमा आइतबार एकैदिन संक्रमण पुष्टि भएको हो । संक्रमण हुनेमा ४ वर्षका दुई जना बालक, १५ वर्षीया एक किशोरी, ५५ वर्षीया एक महिला, ३५ वर्षीय तीन जना पुरुष तथा २६ , २२ र ४२ वर्षीय दुई/दुई जना पुरुष छन् । यस्तै ४७, ४०, २०, ४५, ३८, ३६, ३१, २४, ३८, ७१, ६० र एक जना उमेर नखुलेका पुरुषमा संक्रमण पुष्टि भएको छ ।
आइतबार सप्तरीमा २७ जना नयाँ संक्रमित फेला परेकोमा २५ जना तिलाठी कोइलाडी गाउँपालिका-२ का थिए । अन्य दुई जना भने राजविराजका ४० र २८ वर्षीय पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
भारतसँग सीमा जोडिएका तराइका जिल्लाहरुमा कोरोना संक्रमणको ग्राफ दिनप्रतिदिन बढीरहेको छ । खुला सिमाका कारण यता र उता आउजाउ हुने भएकाले कोरोना संक्रमण बढीरहेको हो ।