
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाभित्र सोमबार राति १२ बजेदेखि एक सातासम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार उपमहानगरपालिकामा कोरोना सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी राजपत्रमा तोकिएको अत्यावश्यक सेवाहरु बाहेकका अन्य सबै सेवा र स्थलहरु सोमबार रातिदेखि एक हप्तासम्मका लागि स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जिल्ला सुरक्षा समितिको निर्णय अनुसार जनकपुरधाम उपमहानगरपालिका भरि निषेधाज्ञा जारी गरिएको जानकारी दिए ।
प्रशासनले औषधि पसल, खाद्यान्न, फलफूल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालन सम्बन्धी सेवा, मालसामान ओसारपसार गर्ने तथा निर्माण कार्यमा प्रयोग हुने ढुवानीका यातायात, सरकारी छापाखाना, सञ्चार सेवा, बैंकिङ सेवा, आन्तरिक सुरक्षा कार्य, खानेपानी सञ्चालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी भण्डारण र वितरण, फोहोरमैला संकलन तथा ढुवानी, विद्युत सेवा, कृषिजन्य कार्य तथा कृषि तथा पशुपंक्षीजन्य उत्पादन, ढुवानीमा प्रयोग हुने साधन, वर्कशपलाई अत्यावश्यक सेवा उल्लेख गरेको छ ।
प्रशासनको यस आदेशलाई उल्लंघन गर्ने व्यक्तिलाई कानून बमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ । निषेधाज्ञा सोमबार राति १२ बजेदेखि लागू हुने छ ।