
भारतका गृहमन्त्री अमित शाहलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । आइतबार उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।
अमित शाहले ट्वीटमार्फत् आफूले कोरोना भाइरसको शुरुवाती लक्षण देखिएपछि परीक्षण गराएको र परीक्षणको क्रममा आफूलाई कोरोना संक्रमण पुष्टि भएको उल्लेख गरेका छन् ।
उनले आफ्नो अवस्था ठीक रहेको तर डाक्टरहरुले अस्पताल भर्ना हुने सुझाव दिएका कारण अस्पतालमा भर्ना हुन गइरहेको बताएका छन् । शाहले पछिल्लो केही दिनमा आफ्नो सम्पर्कमा आउने सबैलाई आइसोलेसनमा बस्दै आफ्नो कोरोना परीक्षण गर्न पनि आग्रह गरेका छन् ।
कोरोना के शुरूआती लक्षण दिखने पर मैंने टेस्ट करवाया और रिपोर्ट पॉजिटिव आई है। मेरी तबीयत ठीक है परन्तु डॉक्टर्स की सलाह पर अस्पताल में भर्ती हो रहा हूँ। मेरा अनुरोध है कि आप में से जो भी लोग गत कुछ दिनों में मेरे संपर्क में आयें हैं, कृपया स्वयं को आइसोलेट कर अपनी जाँच करवाएं।
— Amit Shah (@AmitShah) August 2, 2020
आजै भारतको उत्तर प्रदेशकी शिक्षामन्त्री कमला रानी वरुणको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको कारण ज्यान गुमाएकी छिन् । गत जुलाई १८ मा उनीमा कोरोना पोजेटिभ देखिएपछि लखनउको एसजीपीजी अस्पतालमा भर्ना गरिएकी ६२ वर्षकी वरुणको आज बिहान ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको दर बढ्दो छ । पछिल्लो २४ घन्टामा मात्रै भारतमा ५४ हजार ८ सय ६५ जनामा कोरोना संक्रमण देखिएको छ भने ८ सय ५२ जनाले ज्यान गुमाइसकेका छन् ।
यो समाचार तयार पार्दासम्म भारतमा १७ लाख ५७ हजार ३ सय ९३ कोरोना संक्रमित फेला पर्दा ३७ हजार ४ सय ५२ जनाले ज्यान गुमाइसकेका छन् ।
केही समयअगाडी बलिउड कलाकार अमिताभ बच्चनको परिवारमा कोरोना संक्रमण देखिएको थियो । एेश्वर्या बच्चन र उनकी छोरी आरध्या बच्चन कोरोनाबाट मुक्त भएर घर फर्किसकेका छन् भने अभिषेक र अमिताभ भने अझै अस्पतालमा उपचार गराइरहेका छन् ।