आमा सचेत र सक्रिय हुँदा मकवानपुरको थाहा नगरपालिका–४ नारायणझ्याउमा बालविवाह रोकिएको छ । औपचारिक शिक्षाको कमी भए पनि बालविवाह हुन दिनुहुन्न भन्ने सचेतनाले आफ्नै आमाबाट बालविवाह रोकिएको यो मकवानपुरको पहिलो घटना हो ।
वडा नं ४ नारायणझ्याउकी ५० वर्षीया फूलमाया थिङले आफ्नै छोरीको बालविवाह रोक्न सफल भएकी हुन् । अर्को गाउँको २० वर्षीय केटाले १४ वर्षीया छोरीलाई भगाएर लगेको थाहा पाउने बित्तिकै उहाँ बालविवाह विरुद्ध उत्रिइन् ।
छोरीको बालविवाह हुन लागेको भन्दै उनले वडाध्यक्ष दीपकसिं लामालाई फोन गरिन् । वडाध्यक्ष लामाले आफ्नै वडामा बालविवाह भएको सूचना पाउने बित्तिकै सामाजिक विकास मन्त्रालयमा खबर गरे । लगत्तै मन्त्रालयले बालविवाह रोक्न तदारुकता देखायो र सरोकारवालाको पहलमा बालविवाह रोकियो ।
तामाङ संस्कारमा माइतीले केटा पक्षको प्वाङ (सगुन) नस्वीकारे सम्म बिवाहको कल्पनासम्म पनि गर्न सकिँदैन । केटाकेटी भागेर विवाह गरे पनि माइतीले प्वाङ नखाएसम्म त्यस्तो विवाहलाई मान्यता दिइँदैन ।