
भारतको उत्तर प्रदेशकी शिक्षामन्त्री कमला रानी वरुणको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको कारण मृत्यु भएको छ ।
गत जुलाई १८ मा उनीमा कोरोना पोजेटिभ देखिएपछि लखनउको एसजीपीजी अस्पतालमा भर्ना गरिएकी ६२ वर्षकी वरुणको आज बिहान ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मन्त्री कमला रानीको निधनमा दुःख व्यक्त गर्दै आइतबार आयोध्या जाने आफ्नो कार्यक्रम पनि रद्द गरेका छन् ।
भारतमा गएको २४ घण्टामा ५७ हजार १ सय १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै भारतमा कोरोना सङ्क्रमण पुष्टि भएकाहरुको सङ्ख्या साढे १७ लाख नाघेको छ । त्यहाँ आज मात्रै २ हजारभन्दा धेरै कोरोना सङ्क्रमित थपिएका छन् ।
यस्तै ज्यान गुमाउनेको सङ्ख्या ३७ हजार नाघेको छ ।