
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले स्तनपान गराइरहेकी कामकाजी आमालाई स्तनपानमैत्री वातावरण सिर्जना गरी सहयोग गर्न सरकारी तथा गैरसरकारी निकायलाई अनुरोध गरेका छन् ।
विश्व स्तनपान सप्ताह, २०७७ को अवसरमा सन्देश दिँदै स्वास्थ्यमन्त्री ढकालले सेवाग्राहीको भीडभाड हुने सार्वजनिक स्थलमा स्तनपान कक्षको स्थापना गर्न सरोकारवालासमक्ष अनुरोध गरेका हुन् । सरकारले सबै प्रकारका कुपोषण न्यूनीकरणका लागि विभिन्न कार्यक्रम गर्दै आइरहेको भन्दै उनले हरेक स्थानीय तहमा स्तनपान कक्षको स्थापना गरिएको जानकारी दिए ।
‘कुपोषणको समस्या समाधान गर्दै स्वस्थ मानव पूँजीको विकासमार्फत समृद्ध नेपाल, सुखी नेपालीको महाअभियानमा सबै जनाले आ–आफ्नो स्थानबाट सहयोग गर्न पनि अपिल गर्दछु,’ उनले सन्देशमा भनेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा धेरैजसो आन्तरिक विमानस्थलमा स्तनपान कक्षको स्थापना भएको र नभएका विमानस्थलमा स्थापना हुने क्रममा रहेको स्वास्थ्यमन्त्री ढकालको भनाइ छ । सेवाग्राहीको भीड हुने सरकारी कार्यालय, बसपार्कमा पनि स्तनपान कक्ष स्थापना भइरहेको उनले बताएका छन् ।
स्तनपान सम्बन्धी सिफारिस गरिएका अन्य व्यवहार जस्तैः समयमै स्तनपानको सुरुवात, ६ महिनासम्म पूर्ण स्तनपान र कम्तिमा २ बर्षसम्म थप खानाका साथै स्तनपानलाई निरन्तरता दिनेको संख्यामा भने अझै धेरै सुधार गर्नुपर्ने स्वास्थ्य मन्त्रालयको भनाइ छ । स्वास्थ्यमन्त्रीका अनुसार अस्पतालमा स्तनपानलाई प्रबद्र्धन गर्न तथा बट्टाको दूधलाई निरुत्साहित गर्न मातृ, शिशुमैत्री अस्पतालका रुपमा विकास गर्ने अभियान पनि विस्तार भइरहेको छ ।
‘स्वस्थ र सुन्दर संसार, स्तनपान एक मात्र आधार’ भन्ने मूल नाराका साथ आजदेखि २३ गतेसम्म विश्व स्तनपान सप्ताह २०७७ मनाइँदैछ । स्तनपान संरक्षण तथा सम्बद्र्धन गर्ने उद्देश्यले सन् १९९२ देखि हरेक वर्ष संसारभर अगस्ट १ देखि ७ सम्म विश्व स्तनपान सप्ताह मनाइँदै आएको छ ।