
समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि विराटनगर महानगरपालिका क्षेत्रभित्र १४ दिनका लागि लकडाउन घोषणा गरिएको छ ।
शुक्रबार महानगरपालिकामा बसेको महानगरस्तरीय कोभिड क्राइसीस मेनेजमेन्ट समितिको बैठकले आज(शुक्रबार) राती १२ बजेदेखि लागु हुने गरि लकडाउन गर्ने निर्णय गरेको हो ।
लकडाउन घोषणासँगै भदौ १ गतेसम्म व्यापार व्यवसायसहित सम्पूर्ण रुपमा बजार बन्द रहने छ । अत्यावश्यक सेवादेखि बाहेक अन्य सबै व्पापार तथा व्यवसाय बन्द गरिने मेयर भीम पराजुलीले जानकारी दिए ।
अत्यावश्यक वस्तुको आवातजावतमा समेत प्रोटोकल लागु गरिने छ । समय व्यवस्थापन गरेर मात्रै आउजाउ हुनेछ । लकडाउनपछि बीचको अवस्थालाई हरेर थप निर्णय गरिने विराटनगर महानगरकापालिकाले जनाएको छ ।
प्रदेशको राजधानी समेत रहेको विराटनगरमा समुदायमै कोरोनाका संक्रमित देखिएपछि लकडाउन घोषणा गरिएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव बहादुर खड्का बताउँछन् ।
यसैबीच विराटनगर महानगरपालिकामा शुक्रबार थप १० जनामा कोरोना पोजेटिभ देखिएको छ । शुक्रबार थप ४ महिला र ६ पुरुषसहित १० जना कोरोना संक्रमण देखिएको महानगरपालिकाले जनाएको छ ।
योसँगै महानगरभित्रका कोरोना संक्रमितको संख्या १ सय ७ पुगेको छ ।
प्रयोगशालाहरुबाट रिपोर्ट आउने क्रम नसकिएकोले संक्रमितको संख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ