
प्रहरीले बरामद गरेको पंहेलो धातु प्रकरणमा नयाँ नयाँ ट्विस्ट आइरहेका छन् । सुरुमा कमलादी नजिकै १५ किलो सुन र २ वटा पेस्तोलसहित झोला गाडीबाट फ्याँकिएको भन्ने समाचार आएको केही घन्टापछि । उक्त धातुमध्ये साढे १४ किलो चाँदी र आधा किलो मात्र सुन भएको बताइएको थियो ।
अहिले आएर प्रहरीले कमलादीबाट झोला भेटेको नभएर सुन्धारामा प्रहरीलाई झोला दिएर गाडी भागेको समाचारहरु आइरहेका छन् । यसले उक्त प्रकरणमा नयाँ नयाँ खुलासा भइरहेको छ ।
मंलगबार प्रहरीलाई नै चक्मा दिँदै कमलादीको चेक प्वाइन्टमा बा६च ५५१९ नम्बरको स्कार्पियो गाडीले आधा किलो सुन, साढे १४ किलो चाँदी र २ थान पेस्तोल फालेर स्कार्पियो भागेको सार्वजनिक गरेको थियो ।
तर, सो सामग्री फालेर भागेको नभई तस्करहरूले प्रहरीलाई बुझाएर गाडी भगाएको खुलेको छ । प्रहरी स्रोतका अनुसार यसरी प्रहरीलाई झोला दिएर भाग्नेहरूमध्येका ३ जना पक्राउ परेका छन् । उनीहरूलाई नवलपरासीबाट पक्राउ गरिएको हो ।
आजैमात्रै सो प्रकरणमा मिसिएका १ प्रहरी जवानको साथिको घरबाट १ किलो पंहेलो धातु बरामद गरिएको छ ।
बागबजारस्थित उमेश श्रेष्ठको घरबाट थप एक किलो सुनजस्तो देखिने धातु बरामद गरेको प्रहरी स्रोतले जानकारी दियो।

उमेश श्रेष्ठका आफन्त प्रशन्न श्रेष्ठको कोठाबाट सो परिमाणमा धातु भेटिएको हो। प्रशन्न श्रेष्ठ महानगरीय प्रहरी वृत्त, दरबारमार्गका घुमुवा प्रहरी हुन्।
गत मंगलबार साढे १४ केजी चाँदी र आधा केजी सुन बरामद गरेको घटनामा प्रहरीले अनुसन्धान गर्नेक्रममा प्रशन्न श्रेष्ठको कोठामा छापामा मार्दा एक किलो धातु बरामद गरेको हो।
उक्त धातु सुन हो वा होइन भन्ने पुष्टि भइसकेको छैन। अहिले प्रहरीले उमेश श्रेष्ठलाई पनि नियन्त्रणमा लिएको छ।
मंगलबार कमलादीबाट बरामद गरिएको भनिएको आधा किलो सुन र साढे १४ किलो चाँदी प्रकरण विवादमा परेपछि दरबारमार्गका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) रञ्जन दाहाललाई त्यहाँबाट हटाएर उनको स्थानमा रामेश्वर पौडेललाई ल्याइएको छ ।
घटनाको थप अनुसन्धान गर्न एसएसपी सुशील यादवको नेतृत्वमा एक छानबिन समिति गठन गरिएकाे छ ।