
अब विद्यालयमा क्वारेन्टाइन बनाउन नपाइने भएको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले विद्यालय भवन र परिसरमा क्वारेन्टाइन र आइसोलेसन बनाउन नपाउने निर्णय गरेको हो ।
यसअघि क्वारेन्टाइन र आइसोलेन बनाएका विद्यालयलाई सम्बन्धित पालिकाले पूर्णरुपमा निर्मलीकरण गर्नै पर्ने पनि निर्णय भएको अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले जानकारी दिए ।
यस्तै शैक्षिक सत्र २०७६/७७ को नतिजा प्रकाशन गर्ने, भदौ १ गतेदेखि विद्यार्थी भर्ना गरेर कक्षागत रुपमा विवरण यकिन गर्ने, पाठ्यपुस्तक वितरण गर्ने र शिक्षकहरु विद्यालय पुगिसक्नु पर्ने पनि सरकारले निर्णय गरेको छ । चैत पहिलो सातादेखि शिक्षण संस्थाका पठनपाठन र परीक्षा ठप्प छ ।
सरकारले कोरोना रोकथाम र नियन्त्राणको लागि भारत लगायत तेस्रो मुलुकबाट आउनेहरूलाई राख्न छुट्टै क्वारेन्टिन अभाव भएपछि सामुदायिक विद्यालयहरुलाई नै प्रयोग गर्दै आएको छ।
पछिल्लो समय भने धेरै मानिस क्वारेन्टिन बसाइ सकेर घर फर्किएपछि खाली हुँदै गरेका विद्यालयहरूलाई अध्यापन सुरू गर्नलाई तयार पार्न सरकारले यस्तो निर्देशन दिएको हो।
अहिले पनि कतिपय जिल्लाहरूमा विदेशबाट आएका व्यक्तिहरूलाई विद्यालयमै राखिएको छ।
नेपाल सरकारको नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा. खतिवडाले सरकारले लकडाउनन भन्ने शब्द मात्र हटाएको बताए । उनले नागरिकले स्वास्थ्य सतकर्ता अपनाउनु पर्नेमा जोड दिए । उनले जनजीवन सामान्य बनाउन कोराेनासँग लड्दै जोखिम न्यूनिकरण गर्नु पर्ने बताए । काेराेना जोखिमको बीचमा आतंकित नभई सचेत भई अघि बढ्न सुझाव दिए । कोरोनाकाे संक्रमण घटाउन भौतिक दूरी कायम गर्नु पर्ने बताए ।