
टीकापुर । मङ्गलबार रातिदेखिको लगातार वर्षापछि कैलालीका अधिकांश क्षेत्र डुबानमा परेका छन् । अविरल वर्षाले सिँचाइ कुलो भरिएर बस्तीमा पस्दा कैलालीको जानकी गाउँपालिकाका अधिकांश ठाउँ जलमग्न भएका छन् । नदी तथा कुलाको पानी गाउँ पसेपछि सयौँ घर डुबानमा परेका छन् । घरमा पानी पस्दा खाद्यान्न, अन्नपात भिजेर नष्ट भएका छन् । जानकी गाउँपालिकाका वडा नम्बर ३, ७, ८, ९ का सयौँ घर डुबानमा परेका छन् ।
टीकापुर नगरपालिका–५ शाहीपुर, सिम्रेनी, वडा नं ६ को बेलुवा बस्ती पनि डुबानमा परेको छ । माथिल्लो तटको पानी बग्दै जाँदा यी क्षेत्रमा बाढीको खतरा बढेको छ । निरन्तर वर्षा भएपछि कर्णाली नदीमा निर्माण भएको तटबन्ध भत्कने जोखिम बढेको छ । तटबन्ध भत्कन थालेपछि कर्णाली नदी बस्तीमा पस्ने खतरा बढेको छ ।
लगातारको वर्षाका कारण टीकापुरको जमरा नदीमा पानीको बहाव बढेको छ । जमरा कुलोमा पानी सहतभन्दा माथि पुगेपछि बस्तीमा बग्न थालेको छ । पानी बस्तीमा पसेपछि मुनुवास्थित किसान बिजवृद्धि कृषि सहकारी संस्थामा रहेको २०० क्विन्टल गहुँको बीउ र मौज्दात मल भिजेर नष्ट भएको छ । नदी पुलभन्दा छ फिट माथिबाट बग्न थालेपछि सामान सार्न जानसक्ने अवस्था छैन ।
टीकापुरमा रहेका सिँचाइ कुलो भरिएपछि टीकापुरका सबैजसो बस्ती जलमग्न भएका छन् । टीकापुरमा सयौँ घरमा पानी पसेको छ । उता कैलालीको भजनी र जोशीपुर क्षेत्र पनि डुबानमा परेको छ । भजनी र जोशीपुरमा पनि सयौँ परिवार विस्थापित हुने अवस्था आएको छ ।
यसैगरी जोशीपुर गाउँपालिकाका अधिकांश वडा जलमग्न छन् । कान्द्रा र काँडा नदी सतहभन्दा माथि पुगेपछि जोशीपुर–१, ३, ५, ७ का अधिकांश बस्ती डुबानमा परेका छन् ।
कैलालीमा रहेका कर्णाली, मोहना, काडा, कान्द्रा, खुटियालगायतका नदीमा पानीको बहाव बढेकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । रातभरिको वर्षापछि कैलालीमा बुधबार बिहानैबाट प्रहरी उद्धारमा खटेको छ ।
इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख मधुसुदन न्यौपानले जानकी गाउँपालिकाका केही नागरिकलाई बस्तीबाट सार्ने तयारी गरिएको बताए । ुजहाँ–जहाँ जोखिम छ, त्यहाँ समूहमा प्रहरी परिचालन गरेका छौँु, प्रहरी प्रमुख न्यौपानेले भने, ‘जोखिममा परेकालाई स्थानीयस्तरमा रहेका उच्च घर, सामुदायिक वन तथा विद्यालयमा सार्ने तयारी थालेका छौँ । जनप्रतिनिधि र स्थानीयवासीको सहयोगमा प्रहरी उद्धारमा खटेको छ ।