
प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली उपाध्यक्ष बामदेव गौतमलाई भेट्न उनको निवास भैंसेपाटी पुगेका छन् ।
प्रचण्ड–माधवकुमार नेपाल समूह छाडेर आफूतिर आएलगत्तै ओली गौतमलाई भेट्न निवासमै पुगेका नेकपाका एक नेताले बताए ।
पत्नी राधिका शाक्यको साथमा ओली गौतमको घरमा पुगेका हुन्। पार्टी महासचिव विष्णु पौडेल पनि गौतमकै घरमा छन्। गौतम र पौडेल छिमेकी हुन्। नेकपाभित्र विवाद चर्किएका बेला ओली गौतमको घरमा पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
उपाध्यक्ष गौतमले पार्टीभित्र सहमतिका लागि भन्दै ६ बुँदे प्रस्ताव अघि सारेका थिए। स्रोतका अनुसार बामदेवले राखेको ६ बुँदे प्रस्तावमा ओली सकारात्मक देखिएका छन्।
गत बैशाखमा प्रधानमन्त्री केपी शर्मा ओलीले बामदेवलाई कोरोनापछि प्रधानमन्त्री पद दिने प्रस्ताव गरेका थिए ।
बैशाख १७ गते बसेको नेकपा सचिवालयको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संकट सकिएपछि आफूले प्रधानमन्त्री छाड्ने र उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका थिए ।
यसका लागि राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री हुने गरी संविधान संशोधन गर्न वा प्रतिनिधिसभाको कुनै एक सिट खाली गरेर पनि ल्याउन आफू तयार रहेको उनले बताएका थिए ।
ओलीको उक्त प्रस्तावलाई नेपाली राजनीतिमा बामदेव कार्ड भनेर चर्चा गरिएको थियो ।
उक्त समयमा केटीएम दैनिकका लेखक एकनारायण पौडेलले “के बामदेव निर्वाचित भएपछि सबै समस्या समाधान हुन्छन् त ? होइन भने अरुलाई किन बलिको बोका बनाइदैछ ?” शीर्षकमा लेख समेत लेखेका थिए ।