
काठमाडाैं- बलिउड अभिनेता सोनु सुद लकडाउनको समयमा बाटोमा अलपत्र परेकाहरुलाई आफ्नै खर्चमा उनीहरुको गन्तब्य सम्म लैजान ब्यस्त थिए । उनले त्यसरी हजारौं नागरिकलाई सहयोग गरे ।महामारीका समयमा कठिन अवस्थामा रहेका धेरै मानिसलाई सहयोग गरेर उनले लाखौं करोडौं फ्यानको मन जितिरहेका छन् ।
शुक्रबार उनले सडकमा अलपत्र महिला र बच्चाको उद्दार गरेका थिए ।
उनले ति महिलाका लागि घर समेत बनाउने घोषणा गरेका छन् ।
सोमबार उनले आन्ध्र प्रदेशको एक किसान परिवारलाई खेत जोत्ने ट्र्याक्टर उपलब्ध गराएका छन्।
एक महिलाले आफ्नी दुई छोरीहरुलाई जुवामा नारेर हलोले खेत जोतिरहेका थिए।
सोनुले सामाजिक सञ्जालमार्फत् उक्त परिवारका बारेमा जानकारी पाए लगत्तै सहयोग गरेका हुन्।
उनले ट्विटरमा किसनका छाेरीहरुले पढाइमा ध्यान दिनु पर्ने र किसानलाई जाेत्न गाेरुकाे व्यवस्था गर्नु पर्ने लखेका थिए। केही समयपछि उनले उक्त किसान परिवारकाे गाेरु नभई ट्र्याक्टरको अधिकार भएको लेखे।
उनले साँझसम्म ट्र्याक्टर किसानको आँगनमा पुग्ने पनि बताए। सोनुको उक्त बाचा साँझ नपर्दै पुरा भयो। उनले किसानको घरमा पाँच घन्टामै ट्र्याक्टर पुर्याएदिए।
आन्ध्र प्रदेशका पूर्व मुख्यमन्त्री चन्द्रबाबु नायडुले ट्र्याक्टरका साथ रहेको उक्त परिवारको भिडियो शेयर गरेका छन्। चित्तुर जिल्लाका नागेश्वर राव परिवारलाई सहयोग गरेकोमा उनले अभिनेता सुदको प्रशंसा गरे। उनले दुवै युवतीको पढाइ खर्च व्यहाेर्ने बताएका छन्। आन्ध्र प्रदेशको चित्तुर जिल्लामा बस्ने यो परिवारको आर्थिक अवस्था लकडाउनपछि प्रभावित भएको थियो।