
काठमाडौंको महाबौद्धका ६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि करिब ६० ओटा पसल सिल गरिएका छन् ।
काठमाडौं महानगरपालिका–२७ महाबौद्धका दुई घरका ६ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हो । एकै घरका बुवा, आमा, छोरा, छोरी र घरमा कामगर्ने मान्छेसहित ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने अर्का ब्यक्ति भने फरक घरका हुन् ।
१६ दिन अघि भारतबाट फर्किएकी एक युवतीमा ५ दिनअघि कोरोना पोजेटिभ देखिएको थियो । हाल उनको परिवारका अन्य ५ जनालाई पनि कोरोना संक्रमण पुष्टि भएको हो ।
उनीहरु पाँचै जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भईरहेको छ । अर्का एक जनालाई भने पाटन अस्पतालमा उपचारकोलागि भर्ना गरिएको छ ।
सरकारले लकडाउन खुलाएसँगै राजधानीमा संक्रमितको संख्या बढीरहेको छ । धेरैजसो संक्रमित बाहिरबाट आएका व्यक्तिहरु रहेका छन् ।
स्थानीयमा त्रास
काठमाडौंको महाबौद्धमा छ जनालाई कोरोना संक्रमण भएपछि त्यस क्षेत्रमा त्रासको स्थिति सिर्जना भएको छ । व्यापार गर्ने ती व्यक्तिहरुको संसर्गमा रहेका व्यक्तिहरूलाई पिसिआर परीक्षण गराउन सूचना जारी भएपछि त्यस क्षेत्रमा त्रासको स्थिति सिर्जना भएको हो ।
जारी सूचनामा गणेश मन्दिरदेखि महाबौद्ध स्तुपा व्यवसाय गर्नेको पिसिआर परीक्षणको रिपोर्ट नआएसम्म सुरक्षाको उपाय अपनाउन अपिल गरिएको छ ।