
वीरगन्ज । गोल्छा समूहले वीरगञ्ज भन्सारबाट भित्र्याउन लागेको नयाँ गाडीबाट मोबाइल बरामद भएको छ ।
सो समूहको जीओ अटोमोबाइल्सले ल्याएको फोर्ड गाडी हिजो वीरगञ्जको एकीकृत भन्सार चौकी आइसिपीमा चेकजाँच गर्दा विभिन्न ब्रान्डका ३३ वटा मोबाइल फेला परेको भन्सारका सूचना अधिकृत विमलकुमार साहले जानकारी दिनुभयो ।
जीओले जाँचपासको लागि पेश गरेका १९ मध्ये २ वटा गाडीमा मोबाइल भेटिएको बताइएको छ । नेपाल भारत एकीकृत जाँच चौकीबाट भित्रिएर भन्सारको यार्डमा राखिएका गाडीमा मोबाइल फेला परेको हो ।
गाडीमा लुकाएर मोबाइल भित्र्याउन लागेको खुलेपछि हिजो जीओका एउटा पनि गाडी जाँचपास नभएको भन्सारले बताएको छ ।
नेपाल र भारत दुवैतर्फको एकीकृत निगरानीमा रहने आइसीपीबाट घोषणाभन्दा फरक पारेर पहिलो पटक मोबाइल भित्रिएको हो ।
रेडमी, रेड आई र ओप्पो ब्रान्डका मोबाइल बरामद भएको भन्सारले जनाएको छ ।
‘सानो सानो पोका बनाएर मोबाइल ल्याइएको रहेछ, चालकको बदमासी हो वा यसमा अन्यको पनि संलग्नता छ भन्नेबारे अनुसन्धान गरिरहेका छौं,’ साहले भने, ‘ अनुसन्धानबाट दोषी ठहरिने सबैलाई भन्सार ऐनअनुसार कारबाही हुन्छ ।’
भन्सार ऐनअनुसार मुद्दा पक्रिया अगाडि बढाउँदै चालकलाई अनुसन्धानका लागि बोलाउँदा उपस्थित हुने गरि तारेखमा छोडिएको भन्सार कार्यालयले जनाएको छ ।
न्यूरोडका धेरै पसलहरुमा यसरी लुकुछिपी आएको मोबाइलको विक्रि वितरण हुने गरेको छ । ठूलाठूला व्यापारिक घरानाका व्यक्तिहरु नै यस कार्यमा संलग्न हुँदै आएको भएतापिन निष्पक्ष रुपमा अध्ययन अनुसन्धान नहुँदा सरकारको अर्बौ राजश्व चुवाहट भैरहेको छ ।