
उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गुमाएका धनुषाका एक युवामा कोरोना पुष्टी भएको छ ।
यी युवाको पनि मृत्युपछि कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
आइतबार दिउँसो धनुषाको शहीदनगर नगरपालिका-८ डुमरियाका ३८ वर्षीय युवकको विपि कोइराला विज्ञान प्रतिष्ठान धरान लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।
अहिले साँझ आएको पीसीआर नतिजामा उनमा कोरोना पोजेटिभ देखिएको कोभिड-१९ विशेष अस्पताल जनकपुरधामका प्रमुख डा. जामुन सिंहले जानकारी दिए ।
ज्वरो र रुघाखोकी लागेर जनकपुरधामस्थित प्रादेशिक अस्पताल भर्ना भएका उनलाई थप उपचारका लागि धरान पठाइएको थियो ।
उनलाई करिब एक हप्तादेखि कोरोनाको लक्षण देखिएको तर अन्य कुनै प्रकारको दिर्घ रोग नदेखिएको डा. सिंहले बताए । कोरोनाबाट धनुषामा पहिलो व्यक्तिको मृत्यु भएको हो ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४७ पुगेको छ ।
आज साँझ मात्रै विरगन्जमा ज्यान गुमाएका ६५ वर्षीय भारतीय नागरिकमा मृत्युपछि कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।