
काठमाडौं । बितेको २४ घण्टामा थप १३० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंका ८ जना रहेका छन् ।
आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभरका प्रयोगशालामा ३ हजार ३ सय नमुना परीक्षण गर्दा काठमाडौंका ८ सहित थप १३० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिए ।
यसैगरी पछिल्लो २४ घण्टामा थप ७५ जनाले कोरोना जितेको छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको कूल संख्या १३ हजार १२८ पुगेको छ ।
कहाँ कति थपिए संक्रमित ?
मन्त्रालयका अनुसार सबैभन्दा धेरै मोरङमा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै दैलेखका २५, अछामका १४, काठमाडौं र इलामका ८/८ जना, बर्दियाका ६ र पर्साका ४ जनामा संक्रमण पुष्टि भएको छ ।
कास्की, रोल्पा, सुर्खेत र बाजुरामा ३/३ जना, सुनसरी, महोत्तरी, नवलपुर, सोलुखुम्बु, गोरखा र बाँकेमा २/२ जना तथा झापा, सिराहा, उदयपुर, धनुषा, दाङ, नुवाकोट, रौतहट, मकवानपुर, बारा, रुपन्देही, अर्घाखाँची, जुम्ला र कञ्चनपुरमा एकएक जना संक्रमित थपिएका छन् ।